अमरगढी पोष्ट समाचार
डडेल्धुरा,साउन,२३ गते । कञ्चनपुरका पत्रकार खेम भण्डारी कैदमुक्त भएपछि निर्मला हत्याकाण्डको नया खुलासा गर्ने बताएका छन । निर्मला पन्त बलात्कार–हत्या काण्डसंग जोडिएको गालीबेइज्जती मुद्दामा अदालतले सुनाएको सजाय भुक्तान गरेपछि उनी शनिबार जेलबाट रिहा भएका हुन्।
अदालतको फैसला कार्यान्वयनका लागि गत असार १८ गते भीमदत्त नगरपालिका–१८ कटानबाट पक्राउ परेका भण्डारीले एक महिना सात दिनको कैद सजाय पूरा गरेका हुन्। उच्च अदालतले भण्डारीलाई एक महिना सात दिन कैदसँगै १२ हजार एक सय रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। यसअघि जिल्ला अदालत कञ्चनपुरले एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो।
निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोडेर समाचार प्रकाशित गरेको अभियोगमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्टका छोराले भण्डारीविरुद्ध गालीबेइज्जती मुद्दा दायर गरेका हुन । जेलमुक्त भएपछि भण्डारीले अपराह्न ४ बजे नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखामा नयाँ खुलासा गर्ने जानकारी गराएका छन ।
भण्डारी निर्मला हत्याकाण्डको छानबिन गरि दोशीमाथी कारबाही गरिनुपर्ने माग राख्दै पिडितले न्याय पाउनुपर्ने पक्षमा दृढतापुर्बक उभिएका थिए । निर्मला हत्याकाण्डका दोशीहरु अहिले पनि पक्राउ नपरेर पिडितपरिवारलाई न्यायको महसुस हुन नसकेपछि पत्रकारीताको माध्यमबाट समाचार सम्प्रेषण गर्दे आएका पत्रकार भण्डारीले समाजिक सञ्जालमा समाचार लेखेकै बिषयमा उनीमाथी गालीगलौजलको मुद्धा परेको थियो ।



