अमरगढी पोष्ट समाचार
कैलाली,साउन,२२ गते । सुदूरपश्चिम मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार मातहतका चार वटा प्रादेशिक अस्पताललाई गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका लागि प्रयोग गर्न दिने निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कैलालीमा रहेका तीन वटा प्रादेशिक अस्पताल सेती, टीकापुर र लम्कीचुहा र महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
ती अस्पताललाई चिकित्सा शिक्षाका विद्यार्थीको प्रयोगात्मक कक्षा सञ्चालनमा उपयोग गर्ने विश्वविद्यालयको रणनीति छ ।
सरकारले गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो।
लामो समय मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालयमध्ये के बनाउने भन्ने अन्योलका बीच सरकारले गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गर्दै ऐन बनाएको हो । विश्वविद्यालयका रजिष्ट्रार भीमबहादुर चन्दका अनुसार प्राध्यापक, सहप्राध्यापक र सहायक प्राध्यापक गरी कूल ७७ जना छनोटको प्रक्रिया चलिरहेकोछ । विश्वविद्यालयले चालुशैक्षिक सत्रदेखि चिकित्सा शिक्षाका कार्यक्रम सुरु गर्ने उद्देश्यले चार जना प्राध्यापक र १३ जना सहप्राध्यापक गरी १७ जना छनोटको अन्तिम नतिजा गत आइतबार प्रकाशित गरेको छ । विश्वविद्यालयले यसै शैक्षिक सत्रमा एमबीबीएस, बिएस्सी नर्सिङ, बिएस्सी एमएलटी र बी अप्टोमेट्री गरी चारवटा शैक्षिक कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगको आवश्यक प्रक्रियामा रहेको जनाएको छ ।



