लक्ष्मी ऐर
डडेल्धुरा भदौं १० गते । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत डडेल्धुराका १० जना कामदार सम्पर्कविहीन भएका छन ।
डडेल्धुराको आलिताल गाउँपालिका–३ कान्तिपुरका ६ जना, वडा नम्बर ८ कुर्जेनीका एक जना र वडा नम्बर ७ नाउलीका तिन जना कामदार सम्पर्कविहीन भएको आलिताल गाउँपालिका–३ का वडाध्यक्ष बलबहादुर बुढामगरले बताउनुभयो ।
सम्पर्कविहीन हुनेमा उमेश बुढा, लक्ष्मण रामजाली, गौरव रामजाली, गोविन्द रामजाली, सुन्दर बुढामगर र दिनेश रामजाली, वडा नम्बर ७ नाउजीका दीपक घर्तिमगर, राजेश घर्तिमगर र किरण घर्तिमगर तथा वडा नम्बर ८ कुर्जेनीका चन्द्रबहादुर जर्घा रहेका छन ।
वडाध्यक्ष बुढामगरका अनुसार उनीहरू करिब चार–पाँच महिनाअघि रोजगारीका लागि रसुवा गएका थिए । बाढीपछि उनीहरूसँग सम्पर्क हुन नसकेको हो ।
‘मेरो कान्छो छोरा सुनील बुढामगर पनि काम गर्न गएको थियो । आज ऊ काममा गएको रहेनछ,’ उनले भने । वडाध्यक्ष बुढामगरका अनुसार सुनीलले आफूहरू बस्ने डेरा पहाडमा र काम गर्ने ठाउँ खोलाको किनारमा रहेको बताएका छन ।
सुनीलसँगै कार्यरत करिब ३५ जना कामदार सम्पर्कविहीन रहेको जानकारी समेत उनले दिएको वडाध्यक्ष बुढामगरले बताउनुभयो । काममा नगएकाले सुनील सुरक्षित छन ।
बाढीका कारण सम्पर्कविहीन भएका डडेल्धुराका १० जनाको अवस्थाबारे स्थानीय परिवार र आफन्तहरू चिन्तित बनेका छन ।


