Amargadhi Post

फेरियो रंगुन उपत्यका

वन संरक्षणको कार्यक्रम सुरु गरिएको पाँच वर्षमा हरियालीमात्रै बढेन, भूक्षय र पहिरोको संकट पनि कम भएको छ

डीआर पन्त

डडेलधुरा — डोटीको बुडरबाट उपत्यका छिर्न थालेपछि चारैतिर नदी कटान र चुरेबाट निस्कने खहरे खोलाले जताततै बगरैबगर देखिने रंगुनमा पछिल्लो समय हरियाली छ । पछिल्ला पाँच वर्षमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सुरु भएका संरक्षणका कार्यक्रमले परिवर्तन ल्याएको हो ।

१४ वर्षअघि बाढीले विस्थापित भएका परिवार आफ्नै गाउँमा फिरेका छन् । नदी कटान र बाढीपहिरोले बगर बनेको क्षेत्रमा आधाभन्दा बढि जमिन पुनस् खेतीयोग्य भएको छ । पहिलाकै जस्तो खेतीपाती सुरु भएको छ । वन फडानीले चुरेबाट वर्सेनि निस्कने खहरे खोलाका भेलाले हुने क्षति घटेको छ । रंगुन उपत्यका जोड्ने बुडर–जोगबुढा सडक यतिबेला स्तरोन्नतिको क्रममा छ ।

डोटीको सालिमे लेकबाट सुरु हुने रंगुन नदीको दुवै किनारमा वृक्षरोपण भएको छ । बस्ती नजिक प्रायस् सबै ठाउँमा नदी नियन्त्रणका काम धमाधम चलिरहेका छन् । साबिकको शीर्ष र आलीताल गाविस क्षेत्रमा पनि नदी नियन्त्रणका काम सुरु भएका छन् । ‘भित्री मधेसमा विकास र संरक्षणको कामले गति लिएको छ,’ १४ वर्षअघि बाढीले विस्थापित कृष्ण भट्टले भने, ‘नदी नियन्त्रणपछि बाढीबाट विस्थापितहरू गाउँ फर्किएका छन् ।’

०६२ सालयता बाढीपहिरोले रंगुन उपत्यकामा १ सय ३३ जनाले ज्यान गुमाएका थिए । आलीताल गाउँपालिकाको सुनखोलादेखि सीमा नदी महाकालीसम्मको ४० किमि क्षेत्रमा फैलिएको रंगुन नदी किनारका तीन सयभन्दा बढी घरपरिवार विस्थापित भएका थिए । यीमध्ये २ सय ६५ परिवार पुनर्स्थापित भएका छन् ।

महाभारतबाट बग्ने शीर्ष खोला, चुरेबाट बग्ने पन्तुरा र सादनी नदी तथा उपत्यकाको मध्य भागबाट बग्ने रंगुन नदी मात्र होइन, पूर्वपश्चिम चुरेबाट निस्कने ३४ भन्दा बढी खहरे खोलाले बगर बनाएको उपत्यका अहिले पुनस् हराभरा हुन थालेको छ ।

दैजी–जोगबुढा सडकमा आधा दर्जन पुल निर्माण भइरहेका छन् । केही पक्की पुल तयार भइसकेका छन् । बुडरदेखि जोगबुढा जोड्ने ३२ किमि सडकमा पनि आठवटा पक्की पुल निर्माण सुरु भएको छ । दुवै सडक कालोपत्रे गर्ने काम पनि सँगसँगै सुरु भएको छ । जोगबुढा–दैजी सडक निर्माणमा ढिलासुस्ती भए पनि भीमदत्त राजमार्गको बुडरदेखि जोगबुढा जोड्ने सडकमा भने धमाधम काम भइरहेको छ ।

परशुराम नगरपालिका र आलीताल गाउँपालिकाको आधा भाग मिलेर बनेको सुदूर प्रदेशको एकमात्र रंगुन उपत्यकामा वन संरक्षण, नदी नियन्त्रण, वन्यजन्तुको आश्रयस्थलको विस्तार र स्थानीय तहले सुरु गरेको विकास कार्यक्रमले परिवर्तन हुन थालेको हो । परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहराले सरकार, स्थानीय तह र अन्तर्राष्ट्रिय दातृ निकायहरूको सहयोगमा संरक्षण कार्यक्रम सुरु भएपछि थोरै समयमा रंगुनको रंग फेरिन सम्भव भएको बताइन् । विकास निर्माणले गति लिएपछि रोजगारीका अवसर पनि बढेका छन् । कुनै समय चुरेको काठ काटेर गुजारा गर्नेहरू अहिले विकास निर्माणका योजनामा आबद्ध भएका छन् । भित्री मधेसका विभिन्न गाउँ जोड्ने ग्रामीण सडक, परशुराम धाम, आलीताल, भागेश्वर धामलगायत पर्यटकीय क्षेत्रमा धमाधम भइरहेका विकास निर्माणबाट सर्वसाधारणले प्रत्यक्ष रोजगारी पाएका छन् । आलीतालको सुनखोलादेखि महाकालीसम्म ४० किलोमिटर लामो रंगुन नदीको नियन्त्रण गर्ने काममा धेरैले रोजगारी पाएका छन् । यस बाहेक वन क्षेत्रमा सुरु भएका व्यवस्थित संरक्षणका कार्यक्रमले पनि सर्वसाधारणलाई रोजगारी दिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।