अमरगढी रैबार सम्बाददाता
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समूहले सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिबाट गराएको निर्णय गतल मनसायमा आधारित रहेको भन्दै निर्णयहरू फिर्ता लिन चेतावनी दिएको छ ।
काठमाडौंमा शनिबार वरिष्ठ नेता पौडेल समूहको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा असन्तुष्ट समूहले नेपाली कांग्रेसको निर्णय निष्पक्षता, पारदर्शीता र न्यायको सिद्धान्तका आधारमा हुनुपर्ने जनाएको छ ।
वरिष्ठ नेता पौडेलले सबैभन्दा पहिला शुक्रबारको केन्द्रीय कार्यसमितिबाट भएका निर्णयहरू फिर्ता लिनुपर्ने अन्यथा तल्लो तहका नेताहरूसम्मै आफूहरू जाने बताए । निर्णय सच्चिएन भने तपाईहरूले के गर्नुहुन्छ भन्ने जिज्ञासामा नेता पौडेलले भने, ‘साथीहरूसँग सम्पर्कमा छौँ । तल्लो तहका कार्यकर्ताहरूको सम्पर्कमा छौँ । सबै भ्रातृ संघका नेता तथा कार्यकर्ताहरूसँग सल्लाह गर्नेछौँ । जिल्ला सभापतिहरूसँग कुरा गर्छौं । उहाँहरूले जे सल्लाह दिनुहुन्छ त्यही हुन्छ ।’
जिल्ला सभापतिहरूदेखि कार्यकर्ताहरूसम्म आफूहरू सम्पर्कमा रहेको बताएका पौडेलले सभापति शेरबहादुर देउवासमक्ष गरएर निर्णय सच्याउनका लागि आग्रह नगरिने बताए । ‘तपाई पत्रकारहरूमार्फत निर्णय सच्याउन सभापतिजीसँग आग्रह गरेका छौँ’, उनले भने, ‘सभापतिजीलाई भेट्न गएर निर्णय सच्याउन भन्दैनौँ ।’
वरिष्ठ नेता पौडेलले पार्टीलाई विधान र सहमतिबाट चलाउनुपर्ने बताए । उनले सहमतिका लागि वार्ता हुँदै गर्दा एकलौटी रुपमा आफ्ना मान्छेहरूलाई मात्रै राखेर निर्णय गरिएको बताए ।
‘वार्ता हुँदै थियो । हामीले ९ बुँदा एजेण्डा राखेका थियौँ । वार्ता सकारात्मक भइरहेको थियो । एकलौटी निर्णय गरियो’, वरिष्ठ नेता पौडेलले भने, ‘०७७ सालको पल्लो छेउमा लगेर महाधिवेशनको मिति राखिएको छ । त्यो समयमा हुन सकेन भने पार्टीको हैसियत के हुन्छ रु त्यो समयमा महाधिवेशन हुन सकेन भने पार्टी संकटमा पर्छ ।’
१४औँ महाधिवेशनको मिति तोक्ने बेला सभापति देउवाले आफूहरूसँग परामर्श नै नगरिकन निर्णय गरेको पौडेलको भनाइ छ । ‘मुलुकमा आमनिर्वाचन हुँदा राष्ट्रमा विपक्षी दलसँग कुरा हुन्छ । यहाँ त आफ्नै पार्टीभित्र केही मान्छे बसेर मिति घोषणा गरियो । सल्लाहनै गरिएन’, पौडेलले भनेका छन् ।
‘विधानमा नभएको ४७ वटा विभाग गठन गरियो । १२ सय महासमिति सदस्यको बैठकले गरेको निर्णयलाई उल्लंघन गरिएको छ’, उनले भने, ‘पार्टीको विधानलाई उल्लंघन गरिएको छ । क्रियाशील सदस्यता वितरणमा पनि मनपरी गरिएको छ । क्रियाशील सदस्यता वितरण गर्न त्यो बुँदालाई निलम्बन गरिएको छ । यो विषयमा पनि सल्लाह गरिएन । पार्टीलाई भताभुङग पारिएको छ । त्यो संस्कार देखिएको छ ।’
सभापति शेरबहादुर देउवाको नेतृत्वप्रति प्रश्न उठाएका नेता पौडेलले नेतृत्वको हेलचेक्राइले भ्रातृ संगठनको वर्षौंदेखि अधिवेशन हुन नसकेको बताए । दलित संघ, नेविसंघलगायतका भ्रातृ संगठनहरू बेथितिमा गएको उनले बताए ।
नेता पौडेलले भने, ‘कम्युनिस्टहरूको हातमा सत्ता छ । धेरै भोट ल्यायौँ भनेर गलत काम भइरहेका बेला पार्टीभित्र शेरबहादुरकै नेतृत्वमा भएको छ । हाम्रो लडाइँ प्रजातन्त्र बचाउनको लागि हो । कांग्रेसलाई भरोसाको केन्द्र बनाउनका लागि नै लागेका छौँ ।’
नेता प्रकाशमान सिंहले ९ बुँदे एजेण्डा राखेर वार्ता भइरहेका बेला एकलौटी रुपमा निर्णय गरेको भन्दै सभापति देउवालाई निर्णय सच्याउन आग्रह गरे । उनले पार्टीलाई एकलौटी रुपमा चलाउन खोजिएको भन्दै आक्रोश पोखे ।
महामन्त्री डा।शशांक कोइरालाले पार्टी सभापतिको निर्णयलाई आफूहरूले अस्वीकार गर्ने बताए । उनले भने, ‘पार्टी एक ढिक्का हुनुपर्छ । मिलेर जानुपर्छ । शुक्रबार भएको निर्णय सच्याउनुपर्छ ।’
पौडेल समूहको बैठक र पत्रकार सम्मेलनमा नेता कृष्णप्रसाद सिटौला उपस्थित थिएनन् । पूर्वनिर्धारित कार्यक्रम परेकाले सिटौला उपस्थित नभएको जनाइएको छ । तर, सिटौला समूहका नेताहरू बैठकमा सहभागी थिए ।
