अमरगढी रैबार सम्बाददाता
अमरगढी, पुस १६ गते । सुचना,संञ्चार तथा प्रबिधी मन्त्री गोकुल बास्कोटाले एमसीसी सम्झौता कार्यान्वयन भएरै छोड्ने बताउनु भएको छ । प्रेस संगठन नेपाल डडेल्धुराद्धारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले उक्त धारणा ब्यक्त गरेका हुन ।
राष्ट्रिय स्वाधिनता,मुलुकको अखण्डताका बिषयमा कसैसंग सरकार नझुक्ने बताउनु हुदै उहाँले हरेक राष्ट्रसंगको मित्रवत र समान ब्यबहार गर्ने स्पष्ट पार्नुभयो । एमसीसिका बिषयमा अर्नगल टिकाटिप्पणी भईरहेको प्रति रोश ब्यक्त गर्दे मन्त्री बास्कोटाले सैन्य संरचना निर्माणमा सरकार कुनै हालतमा सम्झौता गर्न सक्दैन बाँकी बिषयमा छलफल गरेर अघि बढ्ने बताउनुभयो । इन्डोप्यासिफिक चीन, रुस र उत्तर कोरियाविरुद्ध छ भन्नु सरासर गलत भएको धारणा राख्नुहुदै उहाँले के गर्नु हुने के गर्न नहुने भन्ने बिषयमा सरकार हेक्का राख्छ कोकोहोलो नगर्न आग्रह गर्नुभयो ।
अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहायता नेपालले स्वीकार गर्न सकिने भन्दै उहाँले राष्ट्रघाती र देशद्रोही जस्तो गरि ब्यबहार नगर्न आग्रह गर्नुभयो । एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको भन्दै त्यसलाई स्वीकार गर्न सकिने उहाँको भनाई थियो । एमसीसी संसदबाट अनुमोदन गर्ने वा नगर्ने सरकारको आन्तरिक मामिला भएको भन्दै राजनैतिक सहमतीका आधारबाटै संसदबाट अनुमोदन गरिने बिश्वास ब्यक्त गर्नुभयो ।
नेपालको आन्तरिक मामिलामा अरुको हस्तक्षेप स्वीकार नभएको भन्दै मन्त्री बास्कोटाले एमसीसीबाट अनुदान लिदा कुनै पनि राष्ट्रघाती नहुने जिकिर गर्नुभयो । मन्त्री बास्कोटाले अर्को प्रसंगमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भूभाग भएको भन्दै भारतले उक्त भूमि नक्साबाट हटाउनुपर्ने बताउनु भएको छ । नेपालको भूमि फिर्ता गराउनेबारे सबै राजनैतिकदलहरुका बिच सहमती भएको भन्दै नत नेपाली भुमी एक इन्च पनि अतिक्रमण हुन दिन्छौं नत कसैको अतिक्रमण गछौं सरकारका प्रबक्ता समेत रहनु भएका मन्त्री बास्कोटाले राष्ट्रियताको लडाईंमा कुनै गद्धारी नहुने बताउनुभयो ।
मन्त्री बास्कोटा भ्रमण बर्ष २०२० को उद्घाटन गर्न डडेल्धुरा आईपुग्नु भएको हो । नेपाल भ्रमण बर्ष तथा पर्यटन बर्षको आज दिउसो १२ ः ०० बजे औपचारिक कार्यक्रमका बिच भ्रमण बर्षको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको अमरगढी नगरपालिका डडेल्धुराले जनाएको छ ।
