अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,जेठ १९ गते । कोरोना संक्रमणका कारण स्थगित इटालियन सिरिए लिग फुटबल प्रतियोगिता २० जुनबाट सुरु हुने भएको छ ।
इटालीका खेलकुदमन्त्री भिनेन्जो स्पाडाफोराले शुक्रबार २० जुनदेखि स्थगित सिरिए लिग सुरु गर्न अनुमति दिएका छन् । गत ९ मार्चदेखि सिरिए रोकिएको थियो । इटालियन फुटबल महासंघका अनुसार खेलाडीहरूले यसै महिनादेखि सामाजिक दूरी कायम गरी प्रशिक्षण सुरु गरेका छन् ।
अंक–तालिकामा युभेन्टस ६३ अंकका साथ शीर्ष स्थानमा छ । लिगमा १२ चरण खेल बाँकी रहँदा युभेन्टसले दोस्रो स्थानमा रहेको लाजियोसँग केवल एक अंकको मात्र अग्रता लिएको छ । तेस्रो स्थानमा रहेको इन्टरमिलानको ५४ अंक छ । यसअघि महासंघले लिग २० मेबाट सुरु गर्ने तयारी गरेको थियो । महासंघका अनुसार लिग २० अगस्टमा सकिनेछ ।
महासंघले लिग पुनः बन्द हुने अवस्था आए प्लेअफको अवधारणा सार्वजनिक गरेको छ । सिरिएको पुछारको क्लब मासिमो सेलिनोले भने स्थगित भएको लिग सुचारु गर्ने कार्यलाई पागलपनको संज्ञा दिएको छ ।
