सुदूरपश्चिमभर १ हजार ५ सय बढीको कोरोना रिपोर्ट आउनै बाँकी
हजार व्यक्ति क्वारेन्टाइनमा, ५२ हजार बढीको कोरोना परीक्षण
अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,जेठ,२८ गते । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका गरी १ हजार ५ सय १७ जनाका कोरोना रिपोर्ट आउनै बाँकी रहेको छ। त्यस्तै प्रदेशभर क्वारेन्टाइनमा झन्डै ६६ हजार व्यक्ति बसिरहेका छन्। मंगलबारसम्म यहाँका ९ वटै जिल्लाभरका क्वारेन्टाइनमा ६५ हजार ९ सय ९१ जना छन्। जसमा ५५ हजार ७ सय ३० पुरुष र बाँकी महिला छन्। सबैभन्दा बढी कैलालीमा २१ हजार ४ सय ५३ जना क्वारेन्टाइनमा छन्। त्यसपछि डोटीमा १० हजार ४ सय रहेका प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। यस्तै अछाममा ८ हजार १ सय ४५, कञ्चनपुरमा ७ हजार २ सय ४० जना, बैतडीमा ४ हजार ४ सय ५७, डडेल्धुरामा ४ हजार ४ सय १०, बाजुरामा ५ हजार २ सय २३, बझाङमा ३ हजार १ सय ४४ र दार्चुलामा सबैभन्दा कम १ हजार ५ सय १८ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो समय दिनहुँ भारतबाट हजारौंको संख्यामा नेपालीहरू स्वदेश फर्किएपछि यहाँका क्वारेन्टाइन भरिएका छन्। लकडाउनका कारण भारतमा रोजगारी गुमाएका तथा अलपत्र परेका नेपाली देश फर्किरहेका हुन्। ५२ हजार बढीको कोरोना परीक्षण सुदूरपश्चिम प्रदेशका ५२ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण परीक्षण गरिएको छ। प्रदेशमा कोरोना परीक्षणका लागि फागुन १ गतेदेखि नमुना संकलन सुरु भएकोमा हालसम्म दुवै विधिबाट ५२ हजार ६ सय ६५ जनाको कोरोना सम्भव भएको हो। मंगलबारसम्म पिसिआर विधिबाट ७ हजार ७ सय ७७ जनाको र ४४ हजार ८ सय ८८ जनाको ¥यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
एक हजार पाँच सय १७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म एक सय ५८ जनामा संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये १९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने दुईको मृत्यु भइसकेको छ। सुदूरपश्चिममा एक हजार ७ सय ८१ जनामा आरडिटी पोजेटिभ देखाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले आरडिटी पोजेटिभ देखाएका कति जनामा पिसिआर परीक्षण भयो भनेर खुलाएको छैन।
मंगलबार १० जना थपिए सुदूरपश्चिममा मंगलबार थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा कोरोना परीक्षण गर्दा यहाँका थप १० जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारीका अनुसार कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एक९एक जनामा कोरोना पुष्टि भएको हो। कैलालीको टीकापुर नगरपालिका २३, २४, ३६ र ४० वर्षीय पुरुष, धनगढी उप–महानगरपालिकाका दुई वर्षीय बालिका र २८ वर्षीय महिला, मोहन्याल गाउँपालिकाका १७ वर्षीय युवकमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २२ वर्षीय युवक, दार्चुलाको लेकम गाउँपालिकाका २६ वर्षीय युवक, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २५ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ।
प्रदेश ५ मा गरिएको परीक्षणमा अछामकी एक महिलामा मंगलबार नै कोरोना पुष्टि भएको थियो। योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ५८ पुगेको छ। कोरोना शंकास्पद ३ सय १७ बिरामी डिस्चार्ज सुदूरपश्चिमका विभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका ३ सय १७ जना डिस्चार्ज भएका छन्। प्रदेशभरका १५ वटा अस्पतालबाट अहिलेसम्म ३ सय १७ बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
