Amargadhi Post

बाजुरामा प्रहरीमाथि आक्रमण, ३ जना घाइते

वसन्तप्रताप सिंह
बझाङ — बाजुराको बुढिगंगा नगरपालिकामा युवाहरुको आक्रमणबाट तीन प्रहरी घाइते भएका छन् । शुक्रबार राति ढुंगामुढा प्रहार हुँदा प्रहरीका तीन वटा मोटरसाइकलमा पनि क्षति पुगेको छ ।

प्रहरीमाथि स्थानीय दिलिप केसीको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । केसी बुढीगंगा नगरपालिका–७ का वडा अध्यक्ष भुवन केसीका छोरा हुन् । उक्त समूहले बुढीगंगा नगरपालिका–८ को रिठा बजारमा होटल व्यवसाय गर्ने पारस रावललाई कुटपिट गरेको उजुरी परेपछि प्रहरी त्यहाँ पुगेको थियो ।

प्रहरी आएपछि एउटा घरमा लुकेका आक्रमणकारीहरुले प्रहरीले घर घेराहाले पछि भित्रैबाट फोन गरेर अरुलाई पनि बोलाएको र उकालो ठाउँबाट ढुंगा मुढा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए । आक्रमणमा प्रहरी जवान मिनबहादुर रौलसहित तीनजना घाइते भएका थिए । उनीहरुको छिमेकी जिल्ला अछामको बयलपाटा अस्पतालमा उपचार गरिएको रोकायाले बताए ।

प्रहरीलाई आक्रमण गरेर भगाएपछि दिलिप केसीको समूह पनि त्यहाँबाट फरार भएको थियो । प्रहरीमाथि आक्रमण भएपछि आक्रमणकारी खोज्न प्रहरी निरीक्षक दानबहादुर रोकाया नेतृत्वको टोली घटनास्थलमा परिचानल गरिएको छ । राति नै घटनास्थलमा पुगे पनि फरार अभियुक्तहरुलाई पक्राउ गर्न नसकेको र खोजी भइरहेको प्रहरी निरीक्षक रोकायाले बताए । अभियुक्त केसी विगतमा पनि स्थानीय र प्रहरीलाई कुटपिट गर्ने काममा संलग्न रहेको रोकायाले बताए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।