अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,भदौं,१० गते । डडेल्धुरामा एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते भएका छन्। डडेल्धुराबाट बैतडीतर्फ गइरहेको बा २झ १७३२ नम्बरको एम्बुलेन्स मंगलबार बेलुकी साढे ६ बजेतिर अमरगढी ७ भालुमारेमा दुर्घटना भएको हो।
पाटन स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना हुँदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
दुर्घटनामा परी बैतडीको पाटन नगरपालिका –६ का ३९ वर्षीय चालक भुवन भण्डारी, सोही ठाउँका ३८ वर्षीय प्रेमसागर भट्ट, पाटनकै १८ वर्षीय निरज जोशी र डडेल्धुराको अजयमेरु गाउँपालिका –१ की २४ वर्षीया निर्मला विक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानले जानकारी दिए।
घाइतेहरुको प्रहरीले उद्धार गरी डडेल्धुरा अस्पताल ल्याएको उनले बताए। उनका अनुसार अहिले घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ। एम्बुलेन्स अनियन्त्रित भइ सडकबाट करिब १ सय ५० मिटर खसेको प्रहरीले जनाएको छ।
