अमरगढी रैबार सम्बाददाता
हेटौडा,चैत,१८ गते । १० पुसमा तत्कालीन नेकपाका ४५ सांसदले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिइएको छ । २३ फागनुमा सर्वोच्चको निर्णयपछि नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत रुपमै पार्टी संचालन गर्ने भएपछि त्यसको प्रभावसँगै मंगलबार एमालेका सांसदहरुले अविश्वासको प्रस्ताव फिर्ता लिने सूचनाको पत्र बागमती प्रदेश सभामा दर्ता गराएका हुन् । एमाले माधव नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गर्दै अविश्वासको प्रस्ताव फिर्ता लिइएको सूचना प्रदेश सभामा दर्ता गरेका छन् ।
प्रदेश सभा सचिवालयका अनुसार सांसदहरुले दर्ता गराएको सूूचना संसद बैठकमा पेश भएपछि मात्र औपचारिक रुपमा अविश्वासको प्रस्ताव फिर्ता हुनेछ । एमालेका सांसद अरुणप्रसाद नेपालनै प्रस्तावक रहेर अविश्वासको प्रस्ताव दर्ता गरेका कारण १० पुसमा तत्कालीन प्रचण्ड पक्षका सांसदले फिर्ता लिएको पत्र प्रदेशसभामा दर्ता गर्नु नपर्ने भएको छ ।
१० पुसमा एमालेका २३ र माओवादी केन्द्रका २२ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि प्रदेश सभामा पेश भएको अविश्वास प्रस्तावमाथिको प्रक्रिया अघि बढ्न सकेको थिएन ।
फागुन २३ गते सर्वोच्च अदालतले गरेको निर्णयसँगै राजनीतिक अवस्था परिवर्तन भएकाले अविश्वासको प्रस्ताव फिर्ता लिएको एमाले नेपाल समूहका सांसद तथा अविश्वास प्रस्तावका प्रस्तावक अरुण नेपालले जानकारी दिए । तत्कालीन नेकपाले अविश्वासको प्रस्ताव राखेकोमा सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएकाले प्रस्ताव फिर्ता लिनुपरेको उनको भनाइ छ ।
माओवादी र एमालेका नेपाल समूहका सांसदले मुख्यमन्त्रीका रुपमा नेत्री अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेको थियो । बागमती सरकार गठनका लागि ५६ सांसद आवश्यक पर्छ । एमाले एक्लैसँग बागमती प्रदेशमा ५७ सांसद रहेका छन् ।
