लक्ष्मी ऐर
डडेल्धुरा,बैसाख, २६ गते । डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा कोरोना संक्रमित जटिल अबस्थाका बिरामीहरुको संख्या बढ्दै गएपछि नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा शाखाको भवनमा तत्काल १६ सैयाको आईसोलेसन बनाईने भएको छ ।
डडेल्धुरा अस्पताल नजिकै रहेको रेडक्रस भवनमा तत्काल १६ सैयाको आईसोलेसन व्यवस्थापन गरिने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो । कोरोना महामारी न्युनीकरणका लागि आवश्यक पहल गर्न गृहजिल्ला पुगेका सुदूरपश्चिम प्रदेश सभाका साँसद कर्णबहादुर मल्लले डडेल्धुरा अस्पतालमा आईसोलेसन बेड कम हुँदा जटिल किसिमको लक्षण देखिएका बिरामीहरुलाई अक्सीजन दिएर उपचार गर्न समस्या भएकाले तत्काल आईसोलेसन निर्माणका लागि जिल्लास्थित सरोकारवालाहरुसँग छलफल गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठ, अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वर प्रसाद ओझा, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी महेन्द्र नेपाल, डडेल्धुरा अस्पताल विकास समितिका पदाधिकारीका साथै मेडिकल सुपरिटेन्डेन्ट डा. जगदिशचन्द्र विष्टसहित जिल्लास्तरीय सरोकारवालाहरुसँग छलफलपछि डडेल्धुरा अस्पताललाई आवश्यक पर्ने अक्सीजनको सहज आपुर्तीका लागि पहल गर्ने निर्णय समेत गरिएको छ ।
छलफलका क्रममा नेपाली काँग्रेस डडेल्धुराका सभापति समेत रहेका साँसद मल्लले कोरोना संक्रमित बिरामी, कुरुवा र अन्य अलपत्रमा परेका नागरिकहरुका लागि नेपाली काँग्रेस डडेल्धुराले गठन गरेको सेवा दलमार्फत खाना र आवासको प्रबन्ध गर्न सकिने र नेपाली काँग्रेस डडेल्धुराको कार्यालय किसुनजी भवनमा आईसोलेसन निर्माण गर्न सकिने प्रस्ताव राखेका थिए ।
