Amargadhi Post

खेल मैदान निर्माणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी

डोटी, असार ७ । डोटीको पूर्वीचौकी गाउँपालिका –५ काडामाण्डौको वडा कार्यालयमा तालाबन्दी गरिएको छ । खेल मैदान निर्माणमा एकलौटी उपभोक्ता समिति बनाएर अनुपयुक्त ठाउँमा निर्माण गर्न लागेको भन्दै स्थानीयवासीले ताला बन्दी गरेका हुन् ।

गाउँपालिकास्तरीय खेल मैदान निर्माणका लागि ३० लाख बजेट विनियोजन गरिएको थियो । गाउँपालिकाको क्रमागत योजनामा रहेको उक्त खेल मैदान निर्माणमा विवाद सिर्जना भएपछि स्थानीयवासीले काम रोक्न माग गर्दै ताला लगाएको स्थानीयवासी खडक साउदले जानकारी दिए ।

विवाद समाधानपछि मात्रै काम सुरु गर्नुपर्ने, उपभोक्ता समितिमा हेरफेर गर्नुपर्ने र सबैलाई पायक पर्ने ठाउँमा मैदान निर्माण गर्नुपर्ने स्थानीयवासीको माग छ । सामुदायिक वनमा निर्माण हुँदै गरेको उक्त खेल मैदान एकलौटी रूपमा उपभोक्ता समिति बनाएर वडा कार्यालयको सिफारिसविना निर्माण गर्न लागिएको स्थानीयवासीको आरोप छ ।

खेल मैदान सबैको पायक पर्ने ठाउँ काडामाण्डौं मावि वा सोही नजिकको सामुदायिक वनमा बनाउनु पर्नेमा गाउँपालिका अध्यक्षको घरनजिकको सामुदायिक वनमा बनाएको भन्दै स्थानीयवासीले ताला लगाएको वडाअध्यक्ष पदमबहादुर धानुकले जानकारी दिए । रासस

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।