कृष्ण साउद
कञ्चनपुर, कार्तिक ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाको आवश्यक सुरक्षा र स्वागतको तयारी पुरा गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोले पुर्याएको क्षतिको निरीक्षण गर्न आज कञ्चनपुर आउनुहुने भएको छ ।
प्रधानमन्त्री देउवाले दोधाराचांदनी नगरपालिका क्षेत्र बाढी प्रभावितहरू बस्दै आएको अम्बिका माविमा पुगेर अवस्थाको बारेमा जानकारी लिनु हुने कार्यक्रम रहेको छ ।
साथै उहाँले महाकाली बाढी प्रभावित भीमदत्त नगरपालिका १२, १३ लगायतका क्षेत्रको पनि अनुगमन र जानकारी लिने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री देउवासँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि आउनु हुने बताइएको छ ।
प्रधानमन्त्री देउवाले अहिले सुदूरपश्चिमका पहाडी जिल्लाहरूको बाढी प्रभावित क्षेत्रको अनुगमनमा रहनु भएको छ ।
