भीमदत्तमा चर्चा धेरै, काम अधुरै
छाडा चौपायाका कारण सडकमा यात्रुदेखि कृषकहरुलाई समेत हैरानी फोहोरमैला व्यवस्थापन केन्द्रका लागि जमिन खोज्न बित्यो अधिकांश समय
भवानी भट्ट
चैत्र ९, २०७८ कञ्चनपुर — स्थानीय तहको चुनावका बेला भीमदत्त नगरपालिकामा सबै राजनीतिक दलका उम्मेदवारको एउटा साझा प्रतिबद्धता थियो । छाडा चौपाया व्यवस्थापन । अहिलेका नगर प्रमुख सुरेन्द्र विष्टले पनि आफ्नो कार्यकालमा छाडा चौपायाको व्यवस्थापन गर्ने प्रतिबद्धतासँगै आफ्नो घोषणापत्रमा समेत उल्लेख गरेका थिए ।
विष्ट निर्वाचित भएपछि छाडा चौपाया व्यवस्थापनका लागि विभिन्न प्रयास पनि भए । गौशाला निर्माणदेखि पहाडी जिल्लातर्फ पठाउने र ट्याग लगाउने सम्मका काम भए । यसमा मात्रै एक करोड बढी खर्च पनि भयो । यसका लागि नगरपालिकाले ऐन कानुन समेत बनायो । तर अहिले पनि अवस्था उस्तै छ । छाडा चौपायाका कारण सडकमा हिँड्ने यात्रुदेखि कृषकहरूले समेत हैरानी बेहोरेका छन् ।
छाडा गाईगोरु दिनभरि सडकमा सुत्ने र रात परेपछि कृषकको खेतबारीमा जाने गरेका कारण निकै समस्या भएका छ । सडकमा दिनहुँ दुर्घटना हुने गरेको छ । कृषकले खेतबारी जोगाउन रातभरि जाग्राम बस्नुपरेको छ । जनप्रतिनिधिको ५ वर्ष कार्यकाल सकिँदा पनि छाडा चौपायाको अवस्था जस्ताको त्यस्तै छ । नगरपालिकाले व्यवस्थापन गर्दै जाने र स्थानीयले पनि छाड्दै जाने गरेका कारण उक्त समस्या समाधान हुन नसकेको जनप्रतिनिधिहरू बताउछन् ।
छाडा चौपायाको व्यवस्थापन मात्रै होइन भीमदत्त नगरपालिकाको अर्को ठूलो समस्या फोहोर मैला व्यवस्थापन हो । फोहोर मैला व्यवस्थापनका लागि पनि बजार क्षेत्रबासीसँग नगर प्रमुखले प्रतिबद्धता गरेका थिए । अहिले पनि नगर क्षेत्रको फोहोर सडक किनार र खाल्डाखुल्डीमा फाल्नुपर्ने बाध्यता छ । बढ्दो सहरीकरणसंँगै यो समस्या झन् विकराल बन्दै गएको छ ।
महेन्द्रनगरमा एसियाली विकास बैंकको सहयोगमा सञ्चालित ग्रामीण सहरी विकास कार्यक्रमअन्तर्गतको ३ अर्ब बढीको बजेट समेत फोहोरमैला व्यवस्थापन केन्द्रको टुंगो नलाग्दा फिर्ता जाने सम्भावना बढेको छ । पहिलो चरणमा १ अर्बको सडक निर्माणको ठेक्का सम्झौता भएपनि त्यसअछि अरु काम अगाडी बढ्न सकेको छैन । उक्त आयोजनाअन्तर्गत ३६ किलोमिटर स्तरीय कालोपत्रे सडक र व्यवस्थित फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुने योजना छ । तर प्रमुख सर्त फोहोर मैला व्यवस्थापन नै राखेको छ । यसका लागि मात्रै ६० करोड बढी रकम छुट्याइएको छ ।
पाँच वर्षको कार्यकालमा फोहोर मैला व्यवस्थापन केन्द्रका लागि जमिन खोज्नमै धेरै जसो समय बितेको छ । चुरे फेदीका विभिन्न सामुदायिक वनमा रहेको खाली जमिनमा फोहोर मैला व्यवस्थापन केन्द्र बनाउने तयारी भए पनि अन्तिम समयमा आउँदा स्थानीयको अवरोधका कारण सफल हुन सकेको छैन । पछिल्लो पटक भीमदत्त नगरपालिका—१९ बागफाटामा १५ बिघा जमिन प्राप्त भएको छ । तर उक्त जमिन खरिदका लागि नगरपालिकासँग बजेट नै छैन ।
‘सबै पक्षको सहमति जुट्न नसक्दा एकिकृत फोहोर मैला विसर्जन केन्द्रको काम अघि बढ्न सकेन,’ नगर प्रमुख विष्टले भने, ‘यसमा हामी अहिले पनि प्रयत्नमै छौं, जमिन खरिद गर्न वजेट नभएकाले पनि केही समस्या भएको छ ।’ उनले स्थानीयकै अवरोधका कारण भीमदत्त नगरपालिका ८ र ९ अन्तर्गत चुरेफेदीको सामुदायिक वनमा निर्माण हुने भनिएको व्यवस्थापन केन्द्र अन्तिम अवस्थामा स्थगित भएको बताए ।
सडक र अन्य पूर्वाधारमा फड्को
नगरपालिकाले उत्तरतर्फ चुरे फेदीमा धार्मिक पर्यटन मार्ग र दक्षिणतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारमा पर्यटकीय मार्ग निर्माण गरेको छ । यसलाई ८१ किलोमिटर लामो नगरको बाहिरी चक्रपथ निर्माणको रूपमा पनि लिइएको छ । यससँगै कालोपत्रे र ग्राभेल सडक पनि ठूलो मात्रामा निर्माण भएका छन् ।
पछिल्लो ४ वर्षको अवधीमा नगरपालिकामा ४८ किलोमिटर सडक कालोपत्रे भएको छ । १७ किलोमिटर नयाँ र ५ किलोमिटर पदमार्गसँगै २४७ किलोमिटर सडक पनि ग्राभेल भएको छ । चुरे फेदीमा २०र२२ मिटर चौडाइको २९ किलोमिटर धार्मिक पर्यटन मार्ग र ५ किलोमिटर बढी शुक्लाफाँटा पर्यटन मार्ग निर्माण भएको छ । जुन नगरपालिकाको सबैभन्दा ठूलो र बाहिरी चक्रपथको योजना हो ।
एसियाली विकास बैंकको ग्रामीण शहरी विकास कार्यक्रमअन्तर्गत अहिले महेन्द्रनगर बजार क्षेत्रको १४ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । महेन्द्रनगर बजारका गल्लीहरू १० मिटर र मुख्य सडकहरू २० देखि ३० मिटरसम्म चौडा हुनेछन् । सडकको दुवैतर्फ साइकल लेन, फुटपाथदेखि वृक्षरोपण समेत गरिनेछ । एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुन सके थप २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । तर यसका लागि पहिलो सर्त्त फोहोरमैला व्यवस्थापन केन्द्र नै छ । करिब ३ अर्व वजेट रहेको कार्यक्रममा फोहोरमैला व्यवस्थापन केन्द्रका लागि मात्रै ६० करोड छुट्याइएको छ । बाँकी रकम सडक स्तरोन्नतिमा खर्च गरिनेछ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुन नसके बाँकी रकम फिर्ता जानेछ ।
यसअघि पनि बजार क्षेत्रमै सघन शहरी विकास कार्यक्रम अन्तरगत नगरपालिकाको विभिन्न क्षेत्रमा ४० किलोमटर सडक कालापत्रे तथा स्तरोन्नति भएको छ । नगरकै सबैभन्दा दुर्गम मानिने वडा नं। ९ को खल्ला मुसेट्टीसम्मै सडक, विद्युत् र टेलिफोन सेवा सञ्चालनमा आएको छ ।
नगरपालिकाको वार्षिक बजेट १ अर्बभन्दा बढी हुने गरेको छ । कार्यकर्ता र आफन्तलाई काम दिन टुक्रे योजनाहरू ल्याएको आरोप समेत नगर प्रमुखलाई लाग्ने गरेको छ । चालु आर्थिक वर्षमा पनि उपभोक्ता समितिमार्फत १ सय बढी र ठेक्कामार्फत ९ वटा योजनाहरूमा सम्झौता भएको नगरपालिकाको योजना शाखाले जनाएको छ ।
नगरपालिकाको १९ वटै वडा कार्यालयका भवन निर्माणको अन्तिम चरणमा छन् । सबै वडामा आधारभूत स्वास्थ्य सेवाका लागि पनि भौतिक पूर्वाधार निर्माणसँगै सञ्चालन गरिएको छ । ज्येष्ठ तथा अपांगता भएका र एकल महिलालाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ । ‘चुनावका बेला गरेका प्रतिबद्धताहरू धेरै पूरा भएका छन्, कोरोना संक्रमणको भयावह अवस्थामासमेत हामीले उल्लेख्य काम गरेका छौं,’ नगर प्रमुख विष्टले भने, ‘एकरडेढ वर्ष त हामी कोरोना संक्रमण न्यूनीकरणमै व्यस्त भयौं, सुरुमा कोरोना संक्रमण देखिदा भारतबाट घर फर्किनेको व्यवस्थापन पनि निकै राम्रो भएको थियो, त्यही व्यवस्थापनका कारण संक्रमण फैलिनबाट जोगियो ।’
भीमदत्त नगरपालिकाले महेन्द्रनगरमा प्राविधिक शिक्षा अध्ययन गर्न महाकाली बहुप्राविधिक शिक्षालय पनि सञ्चालनमा ल्याएको छ । पर्यटन विकासका लागि झिलमिला र बाह्रकुण्डा तालहरूको संरक्षणसँगै शुक्लाफाँटा पर्यटन महोत्सव पनि सञ्चालन गर्दै आएको छ । महाकाली नदीको बहुउपयोग गर्ने नीति अनुरूप भीमदत्त नगरपालिका— ९ खल्ला मुसेट्टीमा र्याफ्टिङको सफल परिक्षण गरिएको छ । उक्त क्षेत्रमा भरतीय पक्षले यसअघि नै र्याफ्टिङ सञ्चालनमा ल्याएको छ । सरकारले अनुमति नदिदा नेपालतर्फबाट र्याफ्टिङ सुचारु हुन सकेको छैन ।
विमानस्थलको काम सुरु
स्थानीय तहको निर्वाचनका बेला महाकाली अस्पतालको सुधार र लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालन पनि प्रमुख एजेन्डा थियो । उम्मेदवारहरूले घोषणा पत्त बनाएरै निर्वाचनमा प्रतिबद्धता समेत गरेका थिए ।
स्थानीयको तहको निर्वाचनपश्चात महाकाली प्रादेशिक अस्पतालको अवस्था निकै सुधार भएको छ । एउटा पनि विशेषज्ञ डाक्टर नहुने उक्त अस्पतालमा अहिले विशेषज्ञ सहित १८ चिकित्सक छन् । सामान्य उपचारका लागि सीमावर्ती बजार खटीमा वा धनगढी जानुपर्ने बाध्यता टरेको छ । भीमदत्त नगरपालिकाकै लगानीमा पिसिआर मेशिन खरिद गरेर कोरोना परीक्षण भइरहेको छ । नगरपालिकाले अस्पतालको सुधारमा ठूलो लगानी गरेको छ ।
कोरोना संक्रमणका कारण नगर बस सञ्चालनदेखि, कञ्चन मल निर्माण लगायतका महत्त्वपूर्ण योजनाहरू अघि बढाउन नसकिएको नगर प्रमुख विष्ट बताउछन् । राजश्व संकलनमा पनि नगरपालिकाले फड्को मारेको उनको दावी छ । विगतमा ५ करोड राजस्व संकलन हुन नसक्ने अवस्थामा अहिले २० करोड संकलन भइरहेको छ । नगर प्रमुखमा निकतम प्रतिस्पर्धी कांग्रेसका पदम बोगटीले फोहोरमैला व्यवस्थापन केन्द्रमा नगर प्रमुखदेखि सबै जनप्रतिनिधि चुकेको बताए ।
