Amargadhi Post

डडेल्धुराका ६ स्थानीय तहले ल्याए बजेट

लक्ष्मी ऐर (रेडियो नेपाल संम्बाददाता)
डडेल्धुरा,असार ११ गते । डडेल्धुराका ६ वटा स्थानीय तहले बजेट ल्याएका छन । दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय रहेको डडेल्धुरा जिल्लाका ६ पालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट ल्याएका हुन ।
परशुराम नगरपालिका बाहेक अन्य ६ पालिकाले गाउँ र नगरसभामा बजेट पेश गर्दै पारित गरेका हुन । अमरगढी नगरपालिकाले ७ असारमा बजेट ल्याएको थियो भने अन्य ५ गाउँपालिकाले आईतबार गाउँसभाबाट बजेट प्रस्तुत गरेका थिए ।
विवादका कारण परशुराम नगरपालिकाले भने बजेट ल्याउन सकेको छैन । परशुरामका नगरप्रमुख भरत बडायर जोशीले बजेट ल्याउने सहमति भइसकेको र छिट्टै नगरसभामा पेश गर्ने तयारी रहेको जानकारी दिनुभयो । यहाँ स्थानीय तहहरूले अधिकांश पुरानै कार्यक्रमहरूलाई निरन्तरता दिएका छन ।
अमरगढी नगरपालिकाले घटाएर ल्यायो बजेट
डडेल्धुराको अमरगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि बजेट घटाएर ल्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड २३ लाख २३ हजारको बजेट ल्याएको हो ।
नगरपालिकाले चालु आर्थिक वर्षभन्दा साढे १४ करोड घटाएको छ । अमरगढीले चालु आर्थिक वर्षका लागि ६३ करोड ९१ लाख ९५ हजारको बजेट ल्याएको थियो ।
१३ औं नगरसभामा मेयर डिल्लीराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि वडा नम्बर १० का अध्यक्ष खेमराज भट्टले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन । नगरपालिकाले कुल बजेटमध्ये चालुतर्फ ३४ करोड ३५ लाख १० हजार र पूँजीगततर्फ १४ करोड ८८ लाख १३ हजार विनियोजन गरेको छ । केही नयाँ र केही पुराना कार्यक्रमलाई समेट्दै बजेट ल्याइएको छ ।
अजयमेरु गाउँपालिकाको बजेट ४५ करोड ३९ लाख
डडेल्धुराको अजयमेरु गाउँपालिकाले ४५ करोड ३९ लाख ६ हजार बजेट ल्याएको छ । आइतबार गाउँपालिका उपाध्यक्ष बसन्ती पालले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि उक्त बजेट गाउँसभाको १३औँ अधिवेशमा प्रस्तुत गरेकी हुन ।

जसमध्ये चालुतर्फ ९ करोड ५७ लाख ६० हजार, पूँजीगततर्फ १४ करोड १४ लाख ५३ हजार र शसर्ततर्फ २३ करोड ८६ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम केहीदिनअघि अध्यक्ष उमेशप्रसाद भट्टले प्रस्तुत गरेका थिए ।
गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृर्षि लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिएका छन । अधिवेशले बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको उहाँको भनाई थियो ।
अजयमेरुले चालु आर्थिक वर्षभन्दा बजेट घटाएर ल्याएको हो । चालु आवमा गाउँपालिकाले ४७ करोड ५८ लाख १३ हजार बजेट ल्याएको थियो ।
आलिताल गाउँपालिकाले ल्यायो ४३ करोड ३ लाखको बजेट
डडेल्धुराको आलिताल गाउँपालिकाले ४३ करोड ३ लाख ८२ हजार ६ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ । आइतबार गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावलले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि उक्त बजेट गाउँसभाको १५औँ अधिवेशमा प्रस्तुत गरेकी हुन । जसमध्ये चालुतर्फ ३१ करोड १३ लाख ६२ हजार र पूँजीगततर्फ ११ करोड ९० लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय राजस्व बाँडफाँडबाट ९ करोड ३३ लाख ८ हजार ६ सय, प्रदेश राजस्व बाँडफाँडबाट २२ लाख ५६ हजार, गाउँपालिकाको आन्तरिक आय १ करोड, संघीय समानीकरण अनुदान ८ करोड २९ लाख, प्रदेश समानीकरण अनुदान ६६ लाख ६८ हजार, शसर्त अनुदान चालु १७ करोड ३८ लाख ५० हजार, शसर्त अनुदान पुँजीगत १ करोड ४७ लाख, प्रदेश विशेष अनुदान चालु ३० लाख, संघीय विशेष अनुदान पुँजीगत २ करोड ५० लाख, प्रदेश विशेष अनुदान पुँजीगत ५७ लाख, संघीय समपूरक अनुदान पुँजीगत ७० लाख र प्रदेश समपूरक पुँजीगत अनुदानबाट ६० लाख गरी कूल ४३ करोड ३ लाख ८२ हजार ६ सय रुपैयाँ जुटाइने उनले बताइन । गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले जानकारी दिनुभयो । उनका अनुसार केही नयाँ र केही पुराना कार्यक्रमलाई समेट्दै बजेट विनियोजन गरिएको छ ।
गाउँपालिका प्रवक्त तथा वडा नम्बर ७ का वडाध्यक्ष वीरबहादुर बोहराले आइतबार नै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आलितालले पनि बजेट तीन करोड घटाएर ल्याएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले ४६ करोड ६४ लाख १८ हजारको बजेट ल्याएको थियो ।
नवदुर्गा गाउँपालिकाको बजेट ४१ करोड ४६ लाख
डडेल्धुराको नवदुर्गा गाउँपालिकाले ४१ करोड ४६ लाख ७७ हजारको बजेट ल्याएको छ। आइतबार गाउँपालिका उपाध्यक्ष निर्मला विष्टले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि उक्त बजेट गाउँसभामा प्रस्तुत गरेकी हुन ।
जसमध्ये चालुतर्फ ७ करोड ४० लाख ५० हजार, पुँजीगततर्फ ११ करोड ४७ लाख २७ हजार, समपूरक अनुदानतर्फ २ करोड ७५ लाख, विशेष अनुदानतर्फ २ करोठ ६० र शसर्त कार्यक्रमतर्फ २२ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ। पालिकाले दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमार्फत् उक्त बजेट प्रस्तुत गरेको हो ।
शुक्रबार नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले प्रस्तुत गरेका थिए। अध्यक्ष अवस्थीका अनुसार गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृर्षि लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको हो। आगामी आर्थिक वर्षका लागि नवदुर्गाले पनि बजेट घटाएर ल्याएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ४३ करोड ४६ लाख ६ हजारको बजेट ल्याएको थियो ।
भागेश्वर गाउँपालिकाले ल्यायो ४० करोड १८ लाखको बजेट
डडेल्धुराको भागेश्वर गाउँपालिकाकाले ४० करोड बढीको बजेट ल्याएको छ । पालिका उपाध्यक्ष पुष्पा ठकुराठीले आइतबार गाउँसभाको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ४० करोड १८ लाख ८३ हजारको बजेट प्रस्तुत गरेकी हुन ।
यही असार ७ गते नीति तथा कार्यक्रम ल्याएको भागेश्वरले आइतबार बजेट प्रस्तुत गरी पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिएका छन । उनले पूर्वाधार विकास र शिक्षालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याइएको बताउनुभयो । भागेश्वरले पनि एक करोड बजेट यसपालि घटाएर ल्याएको छ । गाउँपालिकाले चालु आवमा ४१ करोड २८ लाख २२ हजारको बजेट ल्याएको थियो ।
गन्यापधुरा गाउँपालिकाले ल्यायो ३५ करोड ४९ लाखको बजेट
डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले ३५ करोड ४९ लाख १४ हजारको बजेट ल्याएको छ । आइतबार १६ औं गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष ज्ञानु सेटी देउवाले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गरेकी हुन ।

जसमध्ये चालुतर्फ २३ करोड ८७ लाख ३६ हजार १ सय र पुँजीगततर्फ ११ करोड ६१ लाख ७१ हजार विनियोजन गरिएको उनले बताइन । गाउँपालिकाले संघीय सरकारको वित्तीय समानीकरणबाट ७ करोड ७२ लाख , वित्तीय समानीकरण प्रदेशबाट ५८ लाख ७८ हजार, राजश्व बाँडफाँड संघबाट ७ करोड ५५ लाख ३३ हजार १ सय र प्रदेशबाट १७ लाख ५३ हजार प्राप्त हुने अनुमान गरेको छ ।
यस्तै सशर्त अनुदान संघबाट १६ करोड ९९ लाख र प्रदेशबाट ७९ लाख ५० हजार, विशेष अनुदान संघबाट ७० लाख, समपूरक अनुदान संघबाट ५० लाख र आन्तरिक आयबाट ४७ लाख संकलन हुने अनुमान गरिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ३८ करोड ३ लाख २८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । चालु आवभन्दा आगामी आर्थिक वर्षमा गाउँपालिकाले २ करोड ५४ लाख रुपैयाँ कम बजेट ल्याएको हो। शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाले बजेट ल्याएको अध्यक्ष इन्द्रबहादुर कार्कीले बताउनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।