हरेन्द्र साँउद
काठमाडौँ,असोज,४ गते । गृह मन्त्रालयले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्तामा बोलाएको बताएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले बिहीबार साँझ पौने ७ बजे शिक्षक महासंघका प्रतिनिधिसँग औपचारिक वार्ता हुने जानकारी दिएको छ ।
तर शिक्षक महासंघका नेतृत्वले भने सरकारबाट वार्ताका लागि कुनै औपचारिक प्रस्ताव र पत्र नआएको बताए ।
‘पौने ७ बजे गृह, अर्थ, कानुन र शिक्षामन्त्रीसहित वार्ता बस्ने तयार भइरहेको छ,’ गृहमन्त्रीका सचिवालयका एक सदस्यले नाम नबताउने सर्तमा भने, ‘बिहान पनि एकचरण छलफल भएको थियो, अहिले पनि बोलाएका छौं, ती मन्त्रालयका सचिवहरुसहित वार्ता सुरु गर्ने कुरा छ ।’
सरकारसँग औपचारिक वार्ताको सर्न्दभमा शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले अनविज्ञता प्रकट गरे । ‘हामीलाई वार्ता हुने बारे कुनै जानकारी छैन । आज वार्ता हुने सम्भावना पनि म देख्दिनँ ।’
बिहान वार्ताभन्दा पनि आन्दोलनलाई व्यवस्थित बनाउने विषयमा गृहमन्त्री श्रेष्ठ र शिक्षामन्त्री अशोक राईसँग छलफलमात्र भएको उनले दाबी गरे । सरकारले मंगलबारदेखि नै वार्तामा आउन शिक्षकलाई सार्वजनिकरुपमा अपिल गर्दै आएको छ । शिक्षक महासंघले भने माग पूरा गर्न सक्ने वार्ता समिति गठन भएमात्र छलफलमा बस्न सकिने धारणा राख्दै आएका छन् । गृह, अर्थ, कानुन र शिक्षा मन्त्रालयका प्रतिनिधिसँग विधेयक संसद्मा दर्ता गर्नुअघि नै सहमति भए पनि कार्यान्वयन नभएको शिक्षकहरुको गुनासो छ ।
विधेयक सच्याउन माग राख्दै बुधबारदेखि देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । त्यसको कारण बिहीबार देशभरका २७ हजार सार्वजनिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।
