Amargadhi Post

डडेल्धुराका ९९ जना स्क्रब टाईफसका बिरामी भेटिए

0 18

लक्ष्मी ऐर 
डडेल्धुरा,असोज १४ गते । पाँच गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरामा स्क्रब टाईफसका ९९ जना सक्रमित बिरामीहरु भेटिएका छन ।
साउन महिनादेखि हालसम्म जिल्लाका ९९ जनामा स्क्रब टाइफस पोजेटिभ फेला परेको डडेल्धुरा स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा साउन यता देखि १ सय २० जनाको परिक्षण गर्दा ९९ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
डडेल्धुराको हकमा स्क्रब टाइफसका बिरामी सबैभन्दा बढी जिल्ला सदरमुकामको अरमगढी नगरपालिकामा देखिएका छन । अमरगढीका ४१ अजयेमरु गाउँपालिकाका २१ नवदुर्गा गाउँपालिकाका १९ गन्यापधुरा गाउँपालिकाका १२ र भागेश्वर गाउँपालिकाका ६ जनामा स्क्रब टाइफस रोगको संक्रमण फेला परेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिनुभयो । यसैगरी परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा भने स्क्रब टाईफसका बिरामी भेटिएका छैनन ।

 जिल्लामा संक्रमण देखिएका अधिकांश बिरामीहरू उपचार गराएर घर फर्किएका छन भने केही अस्पताल भर्ना भएर उपचार गराईरहनु भएको स्वास्थ्य कार्यालय डडेल्धुरा भेक्टर कन्ट्रोल निरीक्षक भट्टले बताउनुभयो ।
गत वर्षभन्दा यो वर्ष जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण बढी देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांकले देखाएका छ । गतवर्ष ५४ जनामा संक्रमण पुष्टि भएको थियो भने यो बर्ष ९९ जनामा देखा परेको छ । स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो ।

  यो रोग मुसामा लाग्ने किर्नाजस्तो देखिने किरा (माइट) को टोकाईबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ‘ओरिन्सिया सुसुगामासी’ भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजंगल, घर वरपरको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।
स्क्रब टाइफसको संक्रमण भएमा धेरै ज्वरो आउँछ । टाउको दुख्ने, पसिना धेरै आउने, छाला चिलाउने, आँखा रातो हुँदै जाने, निम्फोग्राफी सुन्निनेजस्ता लक्षण देखापर्न थाल्छन् । विस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, स्वासप्रस्वासमा अवरोध आउने जस्ता समस्या बढ्न थाल्छन् र टोकेको ठाउँमा कालो सानो दाग बस्दै जाने स्क्रब टाइफसका लक्षण हुन ।

चिकित्सकहरूका अनुसार यसबाट बच्न खेतबारीमा काम गर्दा, वनजंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने, घाँसबारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुँइमा नबस्ने, खाँटमा वा अग्लो स्थानमा सुत्ने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्ने गर्नु पर्दछ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।