Amargadhi Post

एक महिनाअघि मात्रै इजरायल पुगेका थिए हमासको हमलामा ज्यान गुमाउने १० नेपाली विद्यार्थी

अमरगढी पोष्ट समाचार
काठमाडौं, असोज २२ । इजरायल र प्यालेस्टाइनको सीमावर्ती सहर गाजामा शनिबार हमास समूहले गरेको हमलामा किबुजस्थित कृषि फार्ममा इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको निधन भएको छ । बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न एक महिनाअघि मात्रै इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ मध्ये १० विद्यार्थीको ज्यान गएको हो । एक विद्यार्थी अझै बेपत्ता छन ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले आइतबार किबुज अलुमिम फार्ममा रहेका नेपाली विद्यार्थीको निधन भएको पुष्टि गर्नुभयो । उहाँले मृतकको शव स्वदेश लैजान तथा त्यहाँ रहेका नेपालीको उद्धारका लागि छलफल भइरहेको जानकारी दिनुभयो । ‘१० नेपाली विद्यार्थीको दुःखद निधन भएको छ । उहाँहरूको शव स्वदेश लैजान र उद्धार गर्नुपर्ने नेपालीको उद्धारका लागि छलफल भइरहेको छ,’ उहाँले भन्नुभयो । नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई मृतक, घाइते र बेपत्ता भएका नेपालीको सूची पठाएको छ । परराष्ट्र मन्त्रालयले प्राप्त गरेको सूचीअनुसार कैलालीको घोडाघोडी नगरपालिका– ४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका– ६ का गणेशकुमार नेपाली, कैलाली बौनियाँका आशिष चौधरी, दार्चुलाको लेकम गाउँपालिका– ५ का दीपेशराज विष्टको मृत्यु भएको छ । त्यस्तै, डोटीको तत्कालीन पचनली गाविस– ३ का राजन फुलारा, डोटीकै तत्कालीन लामिखाल गाविस– ८ का पदम थापा र सल्यानको शारदा नगरपालिका– ३ का प्रवेश भण्डारीको मृत्यु भएको छ । त्यस्तै, दार्चुलाको मालिकार्जुन नगरपालिका– ४ का लोकेन्द्रसिंह धामी, धनुषाको तत्कालीन सपही गाविस– ६ का आनन्द साह र सुनसरीको तत्कालीन मधुवन गाविस– १ का राजेशकुमार स्वर्णकारको मृत्यु भएको छ ।

परराष्ट्रले भने मृतकहरूको सूची सोमबार मात्रै सार्वजनिक गर्ने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले आइतबार प्रतिनिधिसभामा इजरायलको घटनाबारे जानकारी दिने क्रममा केही नेपाली हताहती भएको बताए पनि विस्तृत खुलाएका थिएनन् । परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई घटनाको पुनः पुष्टि गर्न निर्देशन दिएको छ । सल्यानको त्रिवेणी गाउँपालिका– १ का प्रमोद केसी र कैलालीको भजनी–त्रिशक्ति नगरपालिका– ४ का वीरेन्द्र चौधरीलाई उद्धार गरेर राजधानी तेलअभिभतर्फ पठाइएको छ । अर्को सहरमा रहेका, तर सुदूरपश्चिम विश्वविद्यालयको त्यही समूहमा इजरायल गएका कञ्चनपुरका भीमदत्त नगरपालिका– ३ का विपिन जोशी अहिलेसम्म सम्पर्कमा आएका छैनन ।

ग्रिनेडको छर्रा लागेका चार विद्यार्थी भने अस्पतालमा उपचाररत छन । शारदा– २ सल्यानका विधान सेजवाल, दाङको दंगीशरण गाउँपालिका– ३ का रविन डाँगी, कैलालीको टीकापुर नगरपालिका– ९ का धनबहादुर चौधरी र गोरखाको गोरखा नगरपालिका–८ का हिमाञ्चल कट्टेलको अस्पतालमा उपचार चलिरहेको छ । उनीहरू चारैजनालाई सोमबार उद्धार गरेर राजधानी तेलअभिभ ल्याउने तयारी भइरहेको छ । इजरायलस्थित नेपाली राजदूतावास ९नियोग० उपप्रमुख अर्जुन घिमिरेले विद्यार्थीसँग समन्वय गरिरहनु भएको छ । घिमिरेले तेलअभिभबाट स्वदेश फर्किने बन्दोबस्तका लागि चिन्ता नलिन र सुरक्षित रूपमा राजधानी पुग्न वा परिस्थिति हेरेर आफू बसेकै ठाउँमा सुरक्षित रहन आग्रह गरेको बताउनु भयो ।

उनीहरूसहित सुदूरपश्चिम विश्वविद्यालयका ४९ जनाको समूह २७ भदौमा नेपालबाट इजरायल गएको थियो । नेपाल र इजरायलबीच भएको सम्झौताअनुसार उनीहरू कृषि कार्यका लागि गएका हुन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।