गोकुलेश्वर बिमानस्थल : २४ बर्षयता बन्द
कसैका लागि भाषण गर्ने थलो, कसैका लागि खेलमैदान त, कसैका लागि गौचरण
दार्चूला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नंं.०९ गोकुलेश्वरमा अवस्थित गोकुलेश्वर बिमानस्थल पछिल्ला २४ बर्षयता बन्द रहेको छ । सशस्त्र दोन्द्ध शुरु भएसँगै वि.सं २०५०साल देखि जहाजले उडान भर्न छोडकोले यो विमानस्थल गाई-भैंसीका लागि चरन क्षेत्र, नेताहरुका लागि भाषण स्थल र स्थानीयहरुका लागि खेलमैदान बनेको हो ।
दोन्द्धका बेला तत्कालीन माओवादीले विमानस्थलमा रहेको टावर, टर्मिनल भवन, साइड अफिसलगायतमा आगजानी गरेपछि त्यसयता भवन पुनःनिर्माण हुनसकेको छैन । दोन्द्धकाल देखि विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाको आर्थिक विकास र पर्यटन प्रवद्र्धन हुन नसक्दा ठूलो घाटा बेहोर्नु परेको छ । सिंगो दार्चुला जिल्ला र बैतडी जिल्लाको आधाभन्दा बढी भू-भागले सजिलै सेवा पाउने यो विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाका थुप्रै विकासका योजनामा असर पर्नाका साथै उपचारका लागि अन्यत्र पठाउनुपर्ने जटिल अवस्थाका बिरामीले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको छ ।
तत्कालीन बोहरीगाउँ गा.बि.स.को देवथलीमा विमानस्थल निर्माणका लागि प्रस्ताव गरिएकोमा स्थानीयवासीले स्वीकृति नदिएकाले चमेलिया नदी किनारमा रहेको गोकुलेश्वरमा विसं २०४४/४५ सालतिर विमानस्थल निर्माण सुरु गरिएको थियो । २०४६ सालदेखि संचालनमा आएको बिमानस्थल हप्तामा एक-दुई उडान निरन्तररुपमा चल्थ्यो, गोकुलेश्वर बिमान स्थलका कार्यालय सहयोगी रामदत्त विष्टले भने, ‘नेपालगञ्ज-गोकुलेश्वर र गोकुलेश्वर-महेन्द्रनगरका लागि उडान हुँदै आएको हो ।’ ‘तत्कालीन शाखा अधिकृत सुधीरकुमार ठाकुर सरुवा भई गएपछि बन्द रहेको विमानस्थल २०६० सालदेखि कार्यालय सहयोगिको भरमा छोडिएको छ भने आजभोलि ती क्षतिग्रस्त टहारहरुमा थोरै पुर्ननिर्माण गरि ईलाका प्रहरि चौकि गोकुलेश्वरको अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
विमानस्थल सञ्चालनमा हुदाँ यात्रुहरुले एक हप्ता पहिला नै टिकट बुकिङ गर्ने तथा राति पनि टिकटको लागि लाइन लाग्ने गरेको विमानस्थल बन्द हुदाँ समग्र दार्चुला र बैतडीको विकासमा प्रत्यक्ष असर परेको विष्टले बताए । गोकुलेश्वर विमानस्थलको व्यवस्थापनका लागि साविकको गोकुलेश्वर गाविसलाई पहल गरेको विष्टले भने, एक तर्फि प्रयासले नहुने तथा निति नियम तथा सरकारोवालाहरुको चासो नहुदाँ विमानस्थल जीर्ण बन्दैँ गएको हो ।
गोकुलेश्वर विमान स्थल पुन : सुचारु गर्नका मंसिर महिनामा प्राविधिक टोलीले निरक्षण गरेको थियो । ‘उक्त टोलीले विमानस्थल बन्द भएपछि निर्माण भएका भवन तथा दुई जिल्ला जोड्ने चमेलिया पुल पनि विमान सञ्चालनका लागि बाधक बन्ने प्रारम्भिक जानकारी मात्रै गरायो ।’ विमानस्थल सञ्चाल गर्न केन्द्रिय सरकारसंग आवश्यक पहल तथा सिफारिस गरेको शैल्यशिखर नगरपालिकाका मेयर अमर सिंह धामीले जानकारी दिए ।

विमानस्थल जीर्ण बन्दै :
२४ वर्षयता देखि बन्द रहेको गोकुलेश्वर विमानस्थल जीर्ण बन्दैँ गएको छ । हाल सम्म पनि विमानस्थल सुचारु नहुदाँ र बाँकी रहेको मैदान तथा सरकारी जग्गाको संरक्षण नहुदाँ गोकुलेश्वर विमानस्थल जीर्ण बन्दै गएको होे भने बिमानस्थलका भवनहरुमा ईलाका प्रहरि चौकि गोकुलेश्वरको अस्थायी प्रहरि पोष्ट राखिएको छ ।
नेताहरुको भाषण गर्ने थलो :
गोकुलेश्वर बिमानस्थल बन्द भएयता राजनीतिक दलहरूका प्रत्येक ठूला सभाहरू सञ्चालन हुने यो विमानस्थलको धावन मार्गमा उभिएर नेताहरुले मेरै पालामा यो बिमानस्थल सञ्चालन गर्छु भनेर भाषण गरेपनि बिमानस्थलको कुनै प्रगति हुन सकेको छैन ।
२०४९ देखि २०७४ सालसम्म दार्चुलाबाट जितेर जाने र हार्ने सबै नेताले गोकुलेश्वर विमानस्थल सञ्चालन हुने बताएपनि विडम्बना, ठोस पहल कुनै सासंद वा मन्त्रीले गर्न सकेका छैनन । बहुदलीय व्यवस्थाको पुनर्वहालीसँगै सम्पन्न आमनिर्वाचनमा दार्चुलाबाट नेपाली कांग्रेसबाट निर्वा्चित दिलेन्द्रप्रसाद बडू पटक–पटक सांसद र मन्त्री बनेपनि विमानस्थल सञ्चालनमा ल्याउने उहाको प्रतिबद्धता कहिल्यै पूरा भएन ।
मध्यावधि निर्वाचनमा बिजयी प्रेमसिंह धामी, गणतन्त्रको स्थापनासँगै पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका तर्फबाट निर्बाचित लक्ष्मणदत्त जोशी, दोस्रो संविधानसभा र पछिल्लो पटक भएको प्रतिनिधि सभाको चुनावमा जीत हासिल गरेर सिंहदरबार पुगेका एमालेका केन्द्रीय सदस्य गणेशसिंह ठगुन्ना सबैले बिमानस्थल सञ्चालन गर्ने नारा लगाएर जितेपनि बिमानस्थलको हालत फेरीन नसकेको गोकुलेस्वर बिमानस्थलका कार्यालय सहयोगी रामदत्त बिष्टले बताउँनुभयो ।
तात्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई पालाका पर्यटनमन्त्री लोकेन्द्र विष्टमगरले सुदूरपश्चिम भरका विमानस्थलमा हेलिकप्टर सञ्चालन गरेर विमानस्थललाई नियमित गराउने यही विमानस्थलको धावनमार्गमा आयोजित कार्यक्रम उल्लेख गर्नाका साथै रू. ४ लाख ३० हजार बजेट समेत विनियोजन गरे पनि कुनै प्रगति हुन सकेन ।
खेलाडिहरुका लागि उपयुक्त ठाउँ :
यो बिमानस्थल बन्द भएयता यहाँ विभिन्न किषिमका खेलकुद प्रतियोगिताहरु संचालन भएका छन् । क्षेत्रिय स्तरका क्रिकेट प्रतियोगिता, भलिबल प्रतियोगिता देखि लिएर जिल्ला स्तरीय रनिङ्ग सिल्ड प्रतियोगिताहरु पनि यहाँ कयौ पटक आयोजना भईसकेका छन् साथै नगरस्तरीय र स्थानीय स्तरमा हुने सम्पुर्ण खेलकुद प्रतियोगिताहरु यसै हवाई मैदानमा संचालन हुने गर्छन ।
स्थानीयहरुका लागि गौचरण :
‘विमानस्थलको वरिपरिका तारजाली फालिएकाले निर्बाध रुपमा गाईवस्तु भैंसी चरिचरनका लागि बाटो बनेको छ । बिमानस्थल बन्द भए यता स्थानीय घर भएको ब्यक्तिहरुका लागि यहाँ दिनहु गाई बस्तु चराउनका लागि खुला रुपमा गौचरणमा परिणत भएको छ ।
ड्राईभिङ्ग सिक्ने थलो पनि बन्दै :
गोकुलेश्वर बिमानस्थल बन्द भए यता यहाँ विभिन्न ब्यक्तिहरु मोटरसाईकल, जिप तथा कारहरु सिक्ने थलो भएको छ । यो बिमानस्थल बन्द भएयता यहाँ धेरै ड्राईभरहरु उत्पादन भएका स्थानीय जिप चालक मदन सिह धामी बताउँछन् ।
प्राधिकरणका प्राविधिकहरुले गलत रिपोर्ट तयार गरे : नगर प्रमुख
आर्थिक बर्ष २०७३/७४ बजेट वक्तव्य मार्फत गोकुलेश्वर विमानस्थल सञ्चालन गर्ने कार्यक्रम थियो । तर नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरुले स्थलगत निरीक्षण गर्दा यो विमानस्थल जोखिममा रहेको प्रतिवेदन मन्त्रालयलाई बुझाए । यहीकारण विमानस्थल निर्माणमा पर्न नसकेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । अछामको साँफेबगरमा जहाज अवतरण भइसकेको छ । अन्य जिल्लाहरू बैतडीको पाटन, डोटीको दिपायललगायत विमानस्थल कालोपत्रे भइरहदा दार्चुला जिल्लाले पर्यटन विकासको ठूलो सम्भावना बोकेको भए पनि विमानस्थलको निर्माण कार्य अगाडि नबढेपछि स्थानीय चिन्तित भएका छन ।
बैतडी र दार्चुलाको सिमाना छुट्याउने चमेलिया नदीमा बनेको सस्पेन्सन पुलका कारण गोकुलेश्वर विमानस्थललाई प्राधिकरण टोलीले जोखिमयुक्त श्रेणीमा राखेको पाइएको छ । गोकुलेश्वर विमानस्थल भारतको सीमा नजिक भनेर गलत रिपोर्ट दिइएको शैल्यशिखर नगरपालिकाका प्रमुख अमर धामीले बताए । ‘भारतीय सीमाबाट धेरै टाढा पर्छ, विमानस्थल नजिक अनुमति नलिएरै दर्जनौं घर बनेको भनेर पनि गलत रिपोर्ट पेस भएको छ,’ उनले भने ।
गोकुलेश्वरमा रहेको विमानस्थल नजिक ठूला–ठूला घर तथा होटल निर्माण भएकाले उडान भर्नमा समस्या हुने भन्दै काम अघि नबढेको प्राधिकरणले जनाएको छ । विमानस्थल प्राथमिकतामा नपरेपछि यहाँका सांसद, पूर्वमन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराइसकेका छन । ‘दार्चुला–बैतडी जोड्ने सीमा पुल र एयरपोर्टबीच कुनै सम्बन्ध छैन,’ नगरपालिकाका प्रमुख धामीले भने, ‘नबनाउने नियतले समस्या देखाएर जोखिमको श्रेणीमा राखिएको हो ।’ लामो समयदेखि गोकुलेश्वर विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लावासीले आवतजावतमा समस्या झेल्दै आएका छन ।
पर्यटन, आवत–जावत र व्यापारमा अप्ठ्यारो :
विमानस्थल सञ्चालनका लागि दार्चुलाका स्थानीय तहहरुबाट प्रधानमन्त्री तथा सम्बद्ध निकायलाई ज्ञापन-पत्र समेत बुझाइएको छ । विमानस्थल लामो समयदेखि बन्द हुँदा जिल्लाका पर्यटकीय स्थल ओझेलमा पर्दै गएका छन । ‘यहाँको पर्यटकीय विकास हुन सकेको छैन, सर्वसाधारणले समेत आवत-जावतमा सास्ती खेप्नुपरेको छ,’ मालिकार्जुन गाउँपालिका प्रमुख नरेन्द्रसिह धामीले भने ।
विमानस्थल सञ्चालन नहुँदा अपार पर्यटकीय र व्यापारिक सम्भावना बोकेको दार्चुला जिल्लाको पर्यटन प्रवद्र्धन हुन सकेको छैन । प्रदेश राजधानीबाट झण्डै ३४५ किलोमिटर सडक मार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टप्रद यात्रा गर्नुपर्ने भएकाले पर्यटकहरु दार्चुला कमै मात्रमा पुग्ने गरेका छन् ।
विमानस्थल संचालन गर्न सके पर्यटकीय सम्भावना मात्रै बढ्ने छैन, दार्चुला आउनै नमान्ने कर्मचारीहरू पनि सहजै दार्चुला पुग्ने र सेवा दिने धेरैको बुझाइ छ । कष्टप्रद यात्रा देखेर सुविधा सम्पन्न ठाउँमा बसेका कर्मचारीहरू, विकास साझेदार र विज्ञहरूसमेत दार्चुला नपुग्ने गरेका छन् ।
पर्यटकहरूलाई यहाँका पर्यटकीय गन्तव्य सम्म पुर्याउने भरपर्दो यातायात छैन । शैल्यशिखर धाम, अपीनाम्पा संरक्षण क्षेत्र, कैलाश मानसरोवर पदमार्ग, अपि हिमाल, ब्यास गुफा, मार्कण्डेय गुफा, सुर्मासरोवर क्षेत्र, सिद्धटोपी, ब्रह्मदह लगायतका पर्यटकीय स्थल ओझेलमा परेको गायक मनोज सिह धामीले बताए ।
‘जिल्लामा थुप्रै पर्यटकीय सम्भावना बोकेका ऐतिहासिक ठाउँ छन,’ उनले भने, ‘यी क्षेत्रको उचित प्रचारप्रसार हुन नसक्नु र विदेशी पर्यटकलाई सहज किसिमले गन्तव्यसम्म पुग्ने मार्ग छैनन ।’ विदेशी पर्यटकलाई जिल्ला पुग्न अत्यन्त कठिन छ । ‘त्यसपछि पर्यटकीय स्थलसम्म पुग्ने पदमार्गको पनि अभाव छ,’ उनले भने । विदेशी पर्यटकलाई गन्तव्यसम्म र्पुयाउन नसक्नु कमजोरी भएको उनको भनाइ छ ।
