Amargadhi Post

पञ्चेश्वरमा आधुनिक कृषि पाठशाला सञ्चालनमा, किसानले ज्याला पाउने

बैतडी – पञ्चेश्वर गाउँपालिकाले बहुउद्देश्यीय आधुनिक कृषि पाठशाला सञ्चालनमा ल्याएको छ । आधुनिक खेती प्रणालीबाट तरकारी खेती गर्नका लागि गाउँपालिकाको वडा नम्बर–६, गर्मामा जमिन भाडामा लिएर कृषि पाठशाला सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो ।

पाठशालामा आधुनिक खेती प्रणालीबाट तरकारी खेती सुरु गरिएको छ । पाठशालाबाट किसानहरुले आधुनिक कृषि प्रणालीका बारेमा सीप सिक्ने अध्यक्ष चन्दले बताउनुभयो । यसका साथै त्यस फार्ममा काम गरेबापत किसानहरुलाई दैनिक ज्यालासमेत दिने गरेको उहाँले जानकारी दिनुभयो । कृषि पाठशालामा तरकारी, प्याज, काउली, च्याउ, टमाटरलगायतका अन्य तरकारी लगाइएको छ ।

गाउँपालिकाले सञ्चालन गरेको पाठशालामा ४ जना कृषि प्राविधिकहरुले आधुनिक कृषिका बारेमा जानकारी दिइरहेका छन् भने दैनिक १५ भन्दा बढी किसानहरुले सीपसँगै आयआर्जनसमेत गरिरहेका छन् ।

गाँउपालिकाले भाडामा लिएको जमिनमा तारबार गरेर पानीको व्यवस्था, चौकीदार बस्ने ठाउँको व्यवस्थासमेत गरिएको गाउँपालिकाले जनाएको छ । कृषि फार्ममा १ हजार बोट केरा, १ हजार बोट अनार लगाउने तयारीसमेत गरिएको अध्यक्ष चन्दले जानकारी दिनुभयो ।

यस्तै कृषि पाठाशालामा केही दिनमा नै बाख्रापालन, माछापालनलगायतका कामहरु पनि सुरुवात गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

बहुउद्देश्यीय कृषि पाठशालाका लागि गाउँपालिकाले ५० लाख बजेट विनियोजनसमेत गरेको गाउँपालिकाले जनाइएको छ । गाउँपालिकाले सञ्चालन गरेको कृषि पाठशालाले किसानहरु निकै फाइदा हुने विश्वास गरिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।