Amargadhi Post

डडेल्धुराका किसान ब्याबसायिक बन्दै आलु खेतीमा

मानबहादुर साँउद
डडेल्धुरा,माघ २ गते । डडेल्धुराको भित्री मधेश क्षेत्र आलिताल र परशुरामका नगरपालिकाका किसानहरू पछिल्ला वर्षहरूमा आलु खेतीमा ब्याबसायिक बन्दै गईरहेका छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई (आलु सुपरजोन), कृषि ज्ञान केन्द्र लगायतका संस्थाहरूबाट प्राविधिक तथा आर्थिक सहयोग पाएपछि उनीहरु ब्याबसायिक बन्न थालेका हुन ।
नगदेबालीलाई बिस्थापित गर्दे यहाँका किसानहरु आलु खेतीमा आत्मनिर्भर हुन थालेपछि आयश्रोतको मुख्य पेशा बन्न थालेको छ आलु खेती ।
किसानहरूको जीवनस्तरमा उल्लेख्य सुधार आउन थालेपछि अहिले समुहगत र ब्यक्तिगत रुपमा १० रोपनी देखि ३० रोपनी सम्म आलु खेती गर्न थालेको परशुराम नगरपालिका वडा नं.७ घुम्टेगडाका अगुवा कृर्षक अजुवा धामी बताउछन । आलिताल गाउँपालिका–८ रहेको रंगुन ताजा तरकारी उत्पादन समूहका अध्यक्ष लालबहादुर डालामगरले माटो र वातावरण आलु खेतीका लागि उपयुक्त रहेको बताउछन । ‘पहिले गहुँ खेती गरिन्थ्यो, तर आम्दानी कम थियो,’ उहाँले भन्नुभयो । ‘अब आलु खेतीले हाम्रो जीवन बदलेको छ । बजारको राम्रो व्यवस्थापन भयो भने वार्षिक आम्दानी बढ्ने सम्भावना छ । बर्खे तरकारी खेती पनि सम्भव भएकाले हाम्रो आम्दानीको स्रोतमा बृद्धी भएको छ ।’ डालामगरका अनुसार समूहका ४० जना किसानले करिब एक सय रोपनी जमिनमा आलु लगाएका छन् ।
परशुराम नगरपालिका १२, खजुरानीमा रहेको सिद्धनाथ बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष मानबहादुर भण्डारीले भन्नुभयो, ‘हामी २१ जना किसानले आलुको बीउ उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छौं । १७० रोपनीमा आलु खेती बिस्तार गरिएको छ । गत वर्ष २ लाख रुपैयाँसम्मको आम्दानी भयो । यस वर्ष बीउ उत्पादनलाई अझै वृद्धि गर्ने योजना छ ।’

१० रोपनीमा आलु खेती गर्दै आउनुभएका परशुराम नगरपालिका १२, खजुरानीका किसान, मनिष बोहराले सामान्य तरकारी खेतीबाट अहिले ब्यवसायीक रुपमा आलु खेतीमा लाग्नु भएको छ । उहाँ बिशेष गरेर आलुको बीउ उत्पादनमा लाग्नु भएको छ । तर, आलुमा डडुवा रोग लाग्ने समस्या रहेको गुनासो उहाले ब्यक्त गर्नुभयो । स्थानिय सरकारले बिगतमा ढुवानीमा अनुदान दिने गरेको भएपनि पछिल्लो समय खासै सहयोग नपाएको उहाँका भनाई छ । परशुराम नगरपालिका–७ घुम्टेगडाका किसान प्रेमसिह ठगुन्नाले ढुवानीको समस्याले आफ्नो व्यवसायमा निकै कठिनाइ भएको बताउनुभयो । ‘यहाँ बजार छैन, हामीले उत्पादन गरेको आलु महेन्द्रनगरसम्म पु¥याउनुपर्छ, तर ढुवानी खर्च निकै महँगो छ । वडा र नगरपालिकाले यो समस्या समाधान गर्न सके हाम्रो उत्पादन अझै राम्रो हुने थियो उहाँले भन्नुभयो ।
परशुराम नगरपालिका ५ परिगाँउमा लटिनाथ कृषि तथा पशुपंक्षी कृषक समूह बनाएर किसान आलुखेतीमा लागेका छन । समूहका अध्यक्ष सुरेन्द्र बहादुर बोहराले आलुखेती गर्दै आइरहेका किसानले बजार पाउने समस्या भएकाले स्थानिय तहले पहल गरिदिन आग्रह गर्नुभयो । उहाँले २५ कुन्टल आलुको बिउ आलुसुपरजोनले सहयोग गरेको बताउनु भयो । २० जनाको समूहले अहिले ३५ रोपनिमा आलुखेती गरिरहेको उहाँले बताउनु भयो । उहाँले स्थानीय तहले किसानका लागि भरपर्दो बजार व्यवस्थापन गर्न सक्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई डडेल्धुराका प्रमुख भिष्मराज रेग्मीले किसानहरु पछिल्लो समय आलुको बीउ उत्पादनमा आकर्षित भएको बताउछन ।
आफुहरुले पनि आलुबालीको क्षेत्र बिस्तार गर्न लागेको उहाँले बताउनु भयो । यहाँका किसानलाई आलु खेतीमा आत्मनिर्भर बनाउने योजना रहेको बताउदै उहाँले आलुमा केही रोग लागेमा आफुहरुले प्राबिधिक सहयोग गर्ने गरेको तथा स्थानिय पालिकाको कृषि शाखामा समेत समन्वय गर्ने गरेको बताउनुु भयो । डडेल्धुराका किसानले उत्पादन गरेको आलुको बीउ सुदूरपश्चिमका सबै जिल्ला सम्म पुग्ने गरेको बताउनुभयो । गहुँ खेती छोडेर गरिरहेको व्यबसायीक आलुखेती गर्ने किसानहरुलाई अनुदानमा सिचाँई पोखरी निमार्ण, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान, बिउमा अनुदान लगायतका सेवासुविधामा सहयोग गर्दै आएकोे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई (आलु सुपरजोन) डडेल्धुराका प्रमुख भिष्मराज रेग्मीले जानकारी दिनुभएको छ ।
अहिले जिल्लामा करिब ८ सय २२ हेक्टर क्षेत्रफलमा आलुखेती भइरहेको (आलु सुपरजोन) डडेल्धुराका प्रमुख रेग्मीले बताउनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।