२०७६ भदौ २२ आइतबार १३:१३:००
हलिया मुक्तिको घोषणा भएको ११ वर्ष बितेको छ । तर, सुदूरपश्चिमका मुक्तहलियाले अझै साहुकै काम गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।
सरकारले २१ भदौ, ०६५ मा हलिया मुक्तिको घोषणा गरेको थियो । त्यतिवेला मध्य र सुदूरपश्चिमका १२ जिल्लाका १९ हजार ५९ हलियालाई मुक्त गरिएको थियो । तर, अहिलेसम्म पनि उनीहरूको पुनस्र्थापना हुन सकेको छैन । मुक्तिको घोषणापछि सरकारले बेवास्ता गर्दा पुनस्र्थापना हुन सकेको उनीहरूले गुनासो गरेका छन् ।
सुदूरपश्चिमका सबै जिल्ला र कर्णाली प्रदेशका सुर्खेत, हुम्ला र जुम्ला मुक्तहलिया रहेको सरकारी तथ्यांक छ । तर, लामो समयसम्म उनीहरूको पुनस्र्थापनामा सरकारले ध्यान दिएन । ०७२ मा आएर मात्रै मुक्तहलिया पुनस्र्थापना कार्यक्रम लागू गरेको थियो । त्यसयता पनि मुक्त हलिया पुनस्र्थापनाका लागि काम नभएको उनीहरूले गुनासो गरेका छन् ।
त्यतिवेला साहुबाट मुक्ति पाएका थिए । तर, अहिलेसम्म पनि तमसुक नच्यातिएकाले त्यसैलाई देखाएर काममा लगाउने गरेको उनीहरूले गुनासो गरेका छन् । कतिपय वैकल्पिक उपाय नहुँदा साहुकोमै काम गर्न थालेका छन् । आफ्नो घरजग्गा नभएको र सरकारले जग्गा उपलब्ध नगराएकाले वासका लागिसमेत समस्या भएको उनीहरूको गुनासो छ । ‘हलियाका नाममा बलियाले कमाइ खाएका छन् । हामीजस्ता पीडितको कसैले सुन्दैनन्,’ अमरगढी नगरपालिका–७ की मुक्तहलिया देवकी टमाटाले भनिन् ।
धेरै परिवारले मापदण्डअनुसारको परिचयपत्र नपाएको गुनासो गरेका छन् । त्यस्तै, पुनस्र्थापना कार्यक्रम पनि प्रभावकारी नभएको राष्ट्रिय मुक्तहलिया समाज महासंघकी केन्द्रीय सदस्य इन्दिरा ताम्राकारले गुनासो गरिन् । ‘मुक्त हलियाले राज्यबाट पूर्ण व्यवस्थापनसहितको राहत पाएका छैनन्,’ उनले भनिन् । सुदुरपश्चिम र कर्णालीमा गरी १९ हजार ५९ मुक्त हलिया रहेका छन् । उनीहरूको पीडा ११ वर्ष बितिसक्दा पनि उस्तै रहेको राष्ट्रिय मुक्त हलिया समाज महासंघका पूर्वअध्यक्ष डम्बर विकले गुनासो गरे ।
यस्तो छ पुनस्र्थापना कार्यक्रम
जिल्ला पुनस्र्थापना समितिले मुक्तहलियाको लागि जग्गा खरिदबापत दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । त्यस्तै, घर मर्मतका लागि एक लाख २५ हजार र घर निर्माणका लागि तीन लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको पुनस्र्थापना समिति सचिव एवं जिल्ला मालपोत कार्यालय, डडेल्धुरा प्रमुख अशोक सार्कीले बताए । उनका अनुसार, मुक्त हलियाको पुनस्र्थापना कार्यक्रम सञ्चालन भइरहेको छ ।
डडेल्धुरामा प्रमाणीकरणमा परेका दुई हजार पाँच सय ५५ मुक्त हलिया परिवारमध्ये एक हजार चार सय ४६ जनाले परिचयपत्र लिएका छन् । त्यस्तै, दुई सय ७४ परिवार ‘क’ वर्ग, चार सय २५ परिवार ‘ख’ वर्ग, एक सय ५७ परिवार ‘ग’ वर्ग र पाँच सय ७० परिवारले ‘घ’ वर्गको परिचयपत्र पाएका छन् ।
