Amargadhi Post

सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदै

मानबहादुर साँउद
अमरगढी,असोज,१ गते । डडेल्धुरा लगायत सुदूरपश्चिमका अधिकास जिल्लाहरुमा बुढी पोल्ने अर्थात् ‘बन्ढुनी’ पर्व धुमधामका साथ मनाउने चलन छ । असोज १ गतेका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाईने प्रचलन छ ।
भदौ संक्रान्तिमा सुरु हुने यो पर्व असोज संक्रान्तिमा सकिन्छ । भगवान कृष्णले पुतनामाथि विजय गरेको अर्थात आसुरी शक्तिमाथि दैवी शक्तिले विजय गरेको खुसीयालीमा पर्व मनाइने गर्दछ ।
भदौ संक्रान्तिमा गाँउका मानिसहरु नजिकैको वनबाट विभिन्न बुट्यानहरू (झिकणा) काटेर एक ठाउँमा थुप्रो (बन्ढुनी) पार्छन । त्यो थुप्रोलाई असोज संक्रान्तिमा जलाइन्छ । पर्वको केन्द्रविन्दु असोज संक्रान्तिलाई मानिन्छ । किम्बदन्ती अनुसार कंशकी बहिनी पुतनाले कृष्ण भगवानलाई मार्न खोज्दा पुतना आफैं जलेर मरेकी थिइन ।
द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी पुतनालाई कृष्णले दूध चुसी मारेको र कृष्ण बाँचेको खुशीयालीमा असोज संक्रान्तिका दिन यो पर्व मनाइने गरिएको पण्डित भोजराज ओझा बताउँछन । त्यसपछि पुतनालाई कृष्ण र उनका साथीले जलाउँदै उत्सव मनाएका छन,त्यही दिनको स्मरणमा यो पर्व मनाउन थालिएको हो ।
यस पर्वमा कुनै देवीदेवताको पूजाआजा गरिँदैन । यसलाई बाल प्रधान पर्व पनि भन्न सकिन्छ । थुप्रो जलाउँदा बालबालिका ‘गाईबाच्छी पाल, बूढी निकाल,थुई बूढी थुई भन्ने गर्छन । किम्बदन्ती अनुसार यो पर्वलाई रामायणको कथासँग पनि जोडिएको छ । रावणले सीतालाई हरण गरेर लगिरहेको कागभुषुन्डी (जटायु)ले देखेछ । कागभुषुन्डीले सीतालाई रावणबाट बचाउन रावणलाई टोक्न गएछ ।
रावणले बाण हानेर कागभुषुन्डीलाई घाइते बनाइदियो । घाइते कागभुषुन्डी बाटोको छेउमा खसेर छटपटाइरहेको बेला सीताको खोजीमा राम र लक्ष्मणले देखेछन ।
यो पर्व सुदूरपश्चिमको डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा र डोटी लगायत पहाडी जिल्लाहरुबाट बसाइ सरी कैलाली–कञ्चनपुर गएका समुदाय संगै भारतको उत्तराञ्चलका कुमाउ–गढवालमा समेत मनाउने चलन रहेको छ । यसैबीच पर्वकै अवसरमा बिगतका बर्षहरु जस्तै गरि यस बर्ष पनि अमरगढी–७ पोखरामा बन्ढुनी पर्वको अवसरमा ब्राईट भिजन क्लवले यहाँको लोक संस्कृती झल्कीने गरी साँस्कृतिक कार्यक्रमको आयोजना गरेकोको छ ।
प्रत्येक बर्ष राती पोखरा बजारमा यस क्षेत्रका सबै नागरिक जम्मा भई डेउडा खेल खेल्ने चलन रहिआएको छ । बेलुका देखि रातभर पोखरा बजारमा यहाँका बालवालिका देखि युवा, बृद्ध बृद्धाहरु भेला भई देउडा खेल खेल्ने चलन संगै बिहान ४ बजेको समयमा तिलाडी र भट्टराई गाँउबाट धार्मिक परम्परा अनुसार देवी देवताको चौलो संगै धामि काम्दै एकै स्थानमा आईपुगे पछी पोखरा बजार नजिक ठिक १ महिना अगाडी भदौ १ गतेका दिन बारीएको बन्ढुनी पोल्ने गरिन्छ ।
यस पर्वमा रातभरी देउडा, भुवा जस्ता साँस्कृतिक कार्यक्रम गरिने चलन भएपनि पछिल्लो समयमा हराउदै गइरहेको प्रति स्थानिय बुढापाकाहरुको चिन्ता छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।