हरेन्द्र साउद
परशुराम,असोज,५ । नेपाल कम्युनिस्ट पार्टी परशुराम नगरपालिका नगरकमिटिका सदस्यहरुले आइतबार सपथ ग्रहण गरेका छन। परशुराम नगरपालिका–१२ जोगबुडामा एक औपचारिक कार्यक्रमकाबीच नगरकमिटि सदस्यहरुले सपथ ग्रहण गरेका हुन्। तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको सवा एक वर्षपछि पूर्णता पाएको नगर कमिटीमा ८१ जना सदस्य अटाएका छन । नेकपा केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश सह–इञ्जार्च खगराज भट्ट ‘विनोद’ ले उनीहरुलाई शपथ ग्रहण गराएका हुन ।
सोही कार्यक्रमका बीच नगरका १२ वटै वडाका वडाकमिटि अध्यक्ष र सचिवले समेत शपथ ग्रहण गरेका छन्।उनीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्दै आगामी दिनमा पार्टीका नियमित क्रियाकलापमा कटिबद्ध भएर लाग्ने बताए। सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश सह–इञ्जार्च भट्टले दुई तिहाई बहुमतको बर्तमान सरकारलाई असफल बनाउने चलखेल शुरु भएको बताए।
दुई तिहाई बहुमतको समर्थन पाएको सरकारले देश र जनताको पक्षमा सुशासन र समृद्धि निर्माणको लागि छलाङ मारिरहेको अवस्थामा बिभिन्न बाह्य शक्तिहरुले टिका–टिप्पण्णी गरिरहेको उल्लेख गरे।कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सदस्यद्धय गजेन्द्र शाही र उमेश भट्ट ‘विकास’ ले परिवर्तन रातारात हुने कुरा नभएको बताउदै कम्युनिष्ट सरकार सम्बृद्ध नेपालको जग हालिरहेको उल्लेख गरेका छन। पटक–पटक नेपाली कांग्रेस नेतृत्वको सरकार बनेपनि विकासको नाममा सिन्को भाँच्न नसकेकै कारण जनताले कम्युनिष्ट सरकारलाई देशको अभिभारा सुम्पेको उनीहरुको भनाई छ। कम्युनिष्ट कार्यकर्ताहरुले सरकारका सबै गतिविधिबारे जानकार हुनुपर्ने बताउदै गाँउ–गाँउ सम्म विकासका गतिविधिको सञ्चार गर्न आवश्यक रहेको उल्लेख गरेका छन्।
यस्तै नेकपा जिल्ला अध्यक्ष मानसिंह मालले पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्न सबै कार्यकर्ताहरुलाई निर्देशन गरे। पार्टीमा आवद्ध नेता कार्यकर्ताहरुको सहि व्यवस्थापन गरिने बताउदै पार्टीको हित विपरित जाने कार्यकर्ताहरुलाई हदै सम्म कार्वाही गरिने समेत चेतावनी दिएका छन।
