
अमरगढी,असोज,१० गते । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरकारले अभियान थालनी गरिरहेको भएपनि डडेल्धुरा स्थित अमरगढी किल्ला भने सुनसान छ ।
नेपाल सरकारले नै घोषणा गरेको १०० पर्यटकीय गन्तव्य मध्येको ऐतिहासिक अमरगढी किल्ला संरक्षण र सम्बद्र्धनको अभाबमा जिर्ण बन्दै गईरहेको छ ।
लामो समयदेखी नेपाली सेनाले संरक्षण गर्दैआएको किल्लाबाट सेनालाई व्यारेक फिर्ता बोलाएपछि शशस्त्र प्रहरीको जिम्मा लगाएको किल्ला सुरक्षा बिहिन बन्न पुगेको छ । गत बर्ष पुनर्निर्माणका लागि पुरातत्व विभागबाट अमरगढी किल्ला संरक्षणका लागि भन्दै २५ लाख रुपैयाँ बजेट आएको भएपनि त्यसको सही सदुपयोग हुन नसकेको स्थानीयहरुको गुनासो रहेको छ ।
किल्लाको मर्मत गर्नुको साटो बाहिरी सजावट गर्ने काम मात्रै गरेर २५ लाख रुपैया खर्च गरेको भन्दै स्थानीयहरुले तिब्र बिरोधका बाबजुद भुक्तानी लिएर छोडेको अमरगढी किल्ला विकास समितीका अध्यक्ष प्रबिण जैरुको भनाई छ ।
डडेल्धुराको अमरगढी नगरपालिका यसै अमरगढी किल्लाको नामबाट २०५४ सालमा स्थापना भएको थियो । नगरपालिका स्थापना पश्चात २०५६ सालमा नगरपालिकाले किल्लालाई आफ्नो मातहतमा लिएको थियो । तर २०५८ सालमा तत्कालीन विद्रोही माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन अमरगढी किल्लामा पुनः नेपाली सेनाले आफ्नो मातहतमा लिएपछि किल्लामा पर्यटकले प्रवेश गर्नुभन्दा पनि त्यस क्षेत्रमा हिँडडुलमा समेत प्रतिबन्ध लगाइएको थियो ।
त्यस समयमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले समेत किल्ला अवलोकन गर्ने नपाएर फर्किएका थिए । २०५८ सालदेखि २०६६ सालसम्म किल्ला सेनाको मतहतमै थियो । स्थानीयको पटक–पकटको प्रयासपछि २०६६ साल पुष देखी पुनः किल्लालाई अमरगढी नगरपालिकालाई रेखदेख गर्ने र सञ्चालन गर्ने जिम्मा अमरगढी नगरपालिकाले पाएको थियो ।
त्यसपछि पनि किल्लामा निर्धकताका साथ पर्यटक जाने वातावरण भने निर्माण हुन नसक्दा पर्यटकको संख्या अत्यन्त न्यून रहेको तंथ्याकले देखाउछ । पर्यटकलाई प्रवेश खुला गराएपनि फोटो खिच्न भने २०६९ सालबाट मात्रै स्वकृती मिलेको थियो ।
मर्मत सम्भारका लागी बजेट विनियोजन भएतापनि पुरात्वतीक विभागले खासै चासो नदिएकाले मर्मत गर्दा सिमेन्ट प्रयोग भएकाले पुरानो संरचना बिग्रएको छ । पुरानो गुफा भत्कीने अवस्थामा छ भने बडाकाजिले बस्ने घर भत्कीएर त्यसलाई सम्बद्र्धन नगरी त्यसमा टिनको नयाँ छाप्रो बनाइएको छ । किल्लाको प्रचारप्रसार तथा ऐतिहासिक हातहतियार तथा तत्कालीन सैनिकका पोशाक किल्लामा राख्नु जरुरी रहेको स्थानीय जानकार नरेशबहादुर थापाको भनाई छ ।
‘- ती पुराना हातहतियार कहाँ छन ? कसैलाई थाहा छैन थापा भन्छन् ‘यसमा पुरातत्व विभाग तथा स्थानीय सरकारले चासो देखाउनु पर्छ । किल्ला हेर्नको लागि स्थानीय विद्यालय बाहेक अरु कोही नआउने गरेको थापा बताउँछन् । यस किल्लालाई संरक्षण गरेर सबै ठाउँमा प्रचारप्रसार गरेर पर्यटकहरु भित्रयाउन सकिने उहाँको भनाई थियो ।
सात पहाडी जिल्लाको केन्द्र बिन्दु डडेल्धुरामा रहेको अमरगढी किल्ला यस प्रदेशकै सम्भाबित पर्यटकीय गन्तव्य हो । स्थानीय पर्यटन विकासकर्मी गणेश थापा मगरले भन्नुभयो— नेपालमा अगरगढी जस्तो जिवित किल्लाहरु अहिले कही पाइदैन् । यो किल्लाको लामो इतिहास छ । किल्लाको विकासका लागी पुरातत्व विभाग र स्थानीय सरकारले चासो दिन नसक्दा यो अबस्था देखिएको हो ।
किल्ला अवलोकन गर्ने पर्यटकका लागि खासै अवलोकन गर्न लायक वस्तु नहुँदा अवलोकन गर्न पर्यटकको संख्या न्यून रहेको सर्बत्र गुनासो छ । सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालय र कलेजले विद्यार्थीलाई अमरगढी किल्ला घुमाउन ल्याउँछन् । तर किल्लामा पर्खाल मात्र देख्न पाएकोमा उनिहरु मन खिन्न बनाएर फर्किन्छन ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै अमरगढी नगरपालिकाले नगरभित्रका मुख्य पर्यटकीय स्थलको प्रचार प्रशासरका लागि ४ लाख ५० हजार बजेट विनियोजन गरेको अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वरप्रशाद ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो— ‘नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागी कार्ययोजना निर्माणगर्देछौ । यस नगरभित्रका मुख्य पर्यटकीय स्थल घटाल स्थान र अमरगढी किल्लाको प्रचारका लागि यो आर्थिक बर्षमा ४ लाख ५० हजार बजेट छ ।
किल्लाको ऐतिहासिक परिचय ः डडेल्धुरा सदरमुकामको अगरगढी नगरपालिका– ५ खलंगामा अवस्थित अमरगढी किल्लाको आफ्नै इतिहास रहेको छ । समुद्री सतहबाट किल्लाको उचाई लगभग ६५०० फिटमा रहेको छ । बडाकाजी अमरसिंह थापाद्धारा निर्मित यो किल्लामा ठूला–ठूला ढुङगा प्रयोग गरिएकाले यो किल्ला निकै कलात्मक छ ।
पृथ्वीनारायण शाहपछी उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए । रणबहादुर शाहको शासनकालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सीमाना सुरुमा कुमाउ गढवालसम्म पुगेको थियो । एकीकरणको अभियान बेला वि.स १९४७ भदौ ३१ गते सेती नदीको नारीदाङ भन्ने स्थानमा गोरखाली फौजले डोटेली फौज बिच घमासान युद्ध भयो ।
डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्धगर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका थिए । तिनै अमरसिंह थापाले आफू नियुक्त भएपछी यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पश्चिम काकँडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निमार्ण गर्न लगाएका थिए ।
अमरगढी किल्लाको रुपमा परिचित छ । १९४७ मा निमार्ण भएको यही किल्लालाई आधार बनाएर गोरखाली फौजले युद्ध लडेको थियो । काँकडा र कुमाउको अलमोडामा नेपालको हार भएपश्चात यो क्षेत्रको सदरमुकाम दीपायल सिलगढी सरेको बताइन्छ । बडाकाजी अमरससिंह थापाद्धारा निर्मित यो किल्ला विशाल ढुङगाले कलात्मक तरिकाले बनाइएको र किल्ला भित्र युद्धगर्नको सैनिकहरुका लागी २२ वटा गुफाहरु बनाइएको छ । त्यस्तै युद्ध छल्न तथा सफलताका लागी शशस्त्रनिरोध गर्ने मार्ग निमार्ण गरिएको छ । आजभोली भएका किल्लाको माथिल्लो भागका ठूला–ठूला रुखहरुले किल्लाकै ऐतिहासिक गौरव अझैँ झल्कीन्छ भने किल्लाको बिच भागका रहेको भैरवको मन्दिरले धार्मीक महत्व पनि झल्काउँछ । नेपाल एकीकरणका बेला बडाकाजी अमरसिंह थापाले डोटेली राज्यको डडेल्धुरालाई आधारक्षेत्र बनाई कुमाउ गडवालसम्म युद्ध लड्नका लागि यसै अमरगढी किल्लालाई मुख्य आधार मानेर निर्माण गरिएको स्थानीय ६५ वर्षीय उमा श्रेष्ठको भनाई छ । समय बित्दै जादा पछि वि.सं २०२० तिर यो किल्लामा गोरख दल गण बसेर हेरचाह गर्ने गरेको थियो ।
अमरगढी किल्लाका पुराना हातहतियार गायब ः
स्थानीयका अनुसार सुदरपश्चिमकै ऐतिहासिक तथा देशको गरिमा बोकेको डडेल्धुरा सदरमुकाम स्थित अमरगढी किल्लामा रहेका ऐतिहासिक हतियार अहिले किल्ला भित्र छैनन । बडाकाजी अमरसिंह थापाले वि.सं. १८४७ मा स्थापना गरेको अमरगढी किल्लामा नेपाल एकीकरणको समयमा प्रयोग गरिएका ऐतिहासिक तथा पुराना हातहतियार किल्लाभित्र भेटिँदैनन । आफूहरुले तोप, बन्दुक, घरेलु भाला, गोला लगायतका ऐतिहासिक हतियार देखेको तर पछि ती हतीयारहरु कहा गायव भए जानकारी हुन नसकेको स्थानीयबासी सुरेन्द्र थापा बताउछन ।
पहिले सानो छँदा किल्ला भित्र आफूहरुले तोप, बन्दुक, घरेलु भाला, गोला लगायतका हातहतियार देखेको थिएँ अहिले ति हतियाहरु छैनन थापाले भने— अहिले आएर ती हतियारहरु कहा गए खोजबिनको बिषय हुनुपर्दछ । हतियार बेपत्ता हुनुमा सम्बन्धित निकायको उदासिनता जिम्मेवार रहेको आरोप स्थानीयको छ । सम्बन्धित निकायले ध्यान नदिँदा किल्लाभित्रका हतियार बेपत्ता भएकाले किल्लाको महत्व घटेको स्थानीयको भनाई छ ।
नेपालका जिवित किल्लामध्येको पहिलो किल्ला अमरगढी किल्ला रहेको डडेल्धुरा बहुमुखी क्याम्पसका उपप्रध्यापक पुष्पराज जोशीको भनाई रहेको छ । नेपालको अमरगढी किल्ला र सिन्धुलीगढी किल्ला मात्रै हालसम्म जीवित किल्ला रहेको पुरातत्व विभागले जनाएको छ । डडेल्धुराको सदरमुकाममा रहेको एतिहासिक किल्लाभित्र तत्कालीन डोटेली फौजले अंग्रेजसँग लड्दा प्रयोग गरेका तोप, बन्दुक, घरेलु भाला लगायतका ऐतिहासिक हतियार र सैनिक पोसाक नहुँदा किल्लाको महत्व घटेको छ ।
युद्ध लड्दा प्रयोग भएका घरेलु हातहतियार, बन्दुकलगायत अन्य हतियार रहेको र त्यसबेला प्रत्येक वर्ष दसैँको फूलपातीको दिनमा किल्लामा रहेका राजा तथा रानी तोप लगेर टँुडिखेलमा पड्काउने गरेको स्थानीय समाजसेबी भक्त नगरकोटी बताँउछन । किल्लामा त्यसबेला पाँचवटा तोप, दर्जनौँ घरेलु हतियार, सयजती बन्दुक, किल्लाभित्र नै बम गोला बारुद बनाउने छट्टै घर र अन्य युद्ध सामाग्री रहेको तर अहिले किल्ला हेर्न आउने पर्यटकहरुले ती कुनै पनि हतियार देख्न पाउँदैनन ।

‘