अमरगढी पोष्ट समाचार
डडेल्धुरा,माघ,९ गते । डडेल्धुराको अमरगढी नगरपालिकामा एक महिला घरभित्र मृृत फेला परेकी छिन ।
मृत भेटिनेमा भागेश्वर गाँउँपालिका–३ घर भई हाल जिल्ला सदरमुकाममा डडेल्धुराको अमरगढी नगरपालिका ४ जिल्ला प्रहरी कार्यालय पछाडी बसोबास गर्दै आएकी सरिता गिरी रहेको जनाएको छ । शुक्रबार बिहान गिरी मृत अबस्थामा फेला परेकी हुन । मृतक गिरीको आत्महत्यामा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका ड्राईभर माथी आशंका गरिएको छ ।

उनका श्रीमान् विगत १५ वर्षदेखि वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन्। मृत भेटिनुअघि गिरीले सामाजिक सञ्जाल फेसबुक मार्फत लामो सुसाइड नोट सार्वजनिक गरेकी थिइन्। उक्त नोटमा उनले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी हवल्दार यज्ञ साउद को फोटो तथा भिडियोसमेत संलग्न गरेकी छन्। नोटमा उल्लेख गरिएका व्यक्ति जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरीका ड्राइभर यज्ञ साँउद रहेको खुलेको छ । मृतक महिलाको ती प्रहरीसँग अनैतिक सम्बन्ध रहेको र लामो समयदेखि आफू मानसिक दबाबमा रहेको गिरीले उल्लेख गरेकी छन्। सुसाइड नोटमा पीडादायी शब्द प्रयोग गर्दै उनले लेखेकी छन्, ‘मलाई मर्न बाध्य बनाइस्, मरेर के गर्छस् गर भनिस्।’ उनले आफूसँग भएको पैसा र सुनसमेत ती प्रहरीले लिएको दाबी गर्दै छोराको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन्। नोटमा लेखिएको छ, ‘मसँग भएको सबै पैसा लगिस्, आफ्नो घर बनाइस्। मैले दिएको १५ लाख रुपैयाँ मेरो छोरालाई दिनू। कसैले पढाइ देलान्। आमा भएर जन्म दिएँ तर तिमीलाई हुर्काउन सकेन, छोरा माफ गरिदिनु। तिमीले लगेको सुन पनि मेरो छोरालाई दिनू भनेर मर्नु अघि लेखिएको भेटिएको छ ।

घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक बरुणबहादुर सिंहका अनुसार घटनामा संलग्न रहेको आरोपमा प्रहरीका सवारी चालक साउदलाई नियन्त्रणमा लिइएको बताईएको छ। परिवारजन आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

