अमरगढी पोष्ट समाचार
डडेल्धुरा,फागुन १ गते । सुदूरपश्चिममा भ्रष्टाचारका उजुरी पर्ने क्रम बढ्दै गएको छ । प्रदेशमा पछिल्ला आर्थिका वर्षहरुमा वर्षेनी १ हजार भन्दा बढी उजुरी पर्ने गरेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरका अनुसार १२ वर्षको अवधिमा ११ हजार ९५२ उजुरी दर्ता भएका छन् । जसमध्ये ११ हजार ४०९ उजुरी फस्र्योट भइसकेका छन् भने ५४३ उजुरी बाँकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले बुधबार ३५ औँ स्थापना दिवसमा अवसरमा सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ०७०र७१ मा ७४९, ०७१र७२ मा एक हजार १२६, ०७२र७३ मा ९५८, ०७३र७४ मा ६४४ र ०७४र७५ मा ५८८ उजुरी दर्ता भएका छन । यसैगरी, ०७५र७६ मा ७३४, ०७६र७७ मा ९१२, ०७७र७८ मा ९०७, ०७८र७९ मा ७०७, ०७९र८० मा एक हजार २७३, ०८१र८२ मा एक हजार १९८ र चालू आर्थिक वर्ष ०८२र८३ को हालसम्म ६८६ उजुरी दर्ता भएका छन् ।
चालू आर्थिक वर्षको २६ माघसम्म सबैभन्दा बढी कैलालीबाट २९२ तथा सबैभन्दा कम डडेलधुराबाट ७६ उजुरी दर्ता भएका छन् । यसैगरी, कञ्चनपुरमा १९२, अछाममा १२४, बाजुरामा १२०, बैतडीमा ९५, बझाङमा ८७, दार्चुलामा ८३, डोटीमा ७९ उजुरी दर्ता भएका छन् । चालू आर्थिक वर्षमा ६१० उजुरी फस्र्योट गरिएकोमा ५३८ अझै बाँकी रहेका छन् ।
अख्तियारको कञ्चनपुर कार्यालयका प्रमुख वेदप्रसाद भण्डारीले हाल जिल्लाबाट ११ मुद्दा विशेष अदालतमा दर्ता गरिएको र १ स्ट्रिङ अपरेसन गरिएको बताए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले सार्वजनिक निकायमा कार्यरत कर्मचारीले नागरिकलाई अख्तियार देखाएर काम नगर्ने प्रवृत्ति पनि भ्रष्टाचार भएकाले त्यसतर्फ समेत सचेत हुनुपर्ने बताए ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव वैकुण्ठप्रसाद अर्यालले भ्रष्टाचार निवारणका लागि सार्वजनिक निकायमा कार्यरत कर्मचारी स्वयं नैतिकवान हुनुपर्ने बताए ।


