लक्ष्मी ऐर
डडेल्धुरा,फागुन १६ गते । डडेल्धुरामा निर्वाचन आचारसंहिता र मिडियाको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको संयोजनमा अन्तरक्रिया गरिएको हो ।
प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य पदमराज जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला प्रमुख अतिथि र मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइराला विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा निर्वाचन आचारसंहिता पालनामा मिडियाको भूमिका, जिम्मेवारी र चुनौतीका विषयमा विस्तृत छलफल गरिएको थियो । मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाले निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिसकिएको र सहायक कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढिरहेको बताए। उनले आचारसंहिता उल्लंघनका छिटपुट घटना देखिए पनि समयमै सचेत गराएर सुधार गरिएको स्पष्ट पारेका छन ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले डिजिटल माध्यममार्फत फैलिन सक्ने भ्रामक सूचना नियन्त्रण गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै जिम्मेवार र तथ्यपरक पत्रकारिताको खाँचो औंल्याए। डडेल्धुरा विगतदेखि नै शान्त र अनुशासित जिल्लाका रूपमा परिचित रहेको उल्लेख गर्दै उनले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले जिल्लास्थित सञ्चारमाध्यम र पत्रकारहरूले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्दै जिम्मेवार पत्रकारिताको उदाहरण प्रस्तुत गरेको बताए । उनले निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषणमार्फत निर्वाचन वातावरण स्वच्छ राख्न जिल्लाका पत्रकारहरू प्रतिबद्ध रहेको धारणा राखेका छन । तर, उनले निर्वाचन सम्बन्धी जनचेतनामूलक सूचना–सन्देश प्रकाशन तथा प्रसारणका लागि स्थानीय सञ्चारमाध्यमलाई आवश्यक बजेट उपलब्ध नगराइएकोप्रति दुःख व्यक्त गरेका छन ।
‘निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण पर्व हो, तर यससम्बन्धी आधिकारिक सूचना प्रवाहका लागि सञ्चारमाध्यमलाई बजेट नदिइनु दुर्भाग्यपूर्ण हो,’ उनले भने . बोर्ड सदस्य जोशीले देशका विभिन्न जिल्लामा यस्तै कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै निर्वाचन अवधिमा आचारसंहिता पालना गर्दै सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्न सम्पूर्ण पत्रकारहरूलाई आग्रह गरेका छन ।

