अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,साउन,३२, गते । भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीनवर्ष पूरा भएको छ। ०७५ साउन ११ गते बलात्कार पछि हत्या गरिएको अवस्थामा फेला परेकी निर्मलाको हत्यारा भने अझै पत्ता लाग्न सकेको छैन।
निरन्तर अनुसन्धानमा सक्रिय रहेको प्रहरीले अझै अपराधी पत्ता लगाउन सकेको छैन। तीन वर्षको अवधिमा प्रहरीले आधा दर्जन बढी प्रहरी अधिकृतलाई हत्याकाण्डको अनुसन्धान गर्ने जिम्मेवारी दिर्इसकेको छ। यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सिद्धराज न्यौपाने अनुसन्धान निरन्तर जारी रहेको बताउँछन्।
उनले भने,“विगतका सबै अनुसन्धानलाई पनि हेरिरहेका छौं। शंकास्पदमाथि निगरानी, सोधपुछ लगायतका काम भइरहेका छन्। हामी गम्भीरता पूर्वक यो घटनाको अनुसन्धानमा छौं।” सुक्ष्म ढङ्गले अनुसन्धान भइरहेको उनको भनाई छ।
स्वास्थ्य परीक्षण बाट बलात्कारमा एक जनाको मात्रै संलग्नता देखिएको छ। निर्मलाको शरीरबाट निकालिएको स्वाबमा एकजनाको मात्रै डीएनए विकासित भएको छ। घटनामा कसको संलग्नता थियो खुलिसकेको छैन। तर केही प्रहरी अधिकारीहरु घटनामा दुईजनाको संलग्नता हुनसक्ने दाबी गर्छन्। उनीहरु भन्छन्, “बलात्कार र हत्यामा दुईजना हुन सक्छन्, साइकल व्यवस्थापन र हत्यामा एकैजना हुने सम्भावना कम देखिन्छ। सरसर्ती हेर्दा साइकल फालिएको नभएर व्यवस्थापन गरेको हो कि भन्नेजस्तो देखिन्छ।”
यसका लागि प्रहरीले घटनास्थलमा साइकल लगेर ट्रायल समेत गरिसकेको छ। खोलामा साइलक फाल्दा अडिन्छ वा अडिन्न भनेर ट्रायल गरिएको थियो। प्रहरीले शंकाको घेरामा यसअघि अनुसन्धानमा तानिएकाहरु लाई पनि राखेको छ। नयाँ तथ्य पनि विकास गर्दै लगेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन्। नजिकका आफन्त, सेना, विभिन्न अपराधमा संलग्न भएकाहरु अनुसन्धानको घेरामा छन्।
तीनजना सेनामाथि त प्रहरीले अनुसन्धान नै गरेको थियो। उनीहरुको डीएनए समेत संकलन गरिएको थियो। यसबाहेक निगरानीमा शिक्षक पनि रहेको प्रहरी स्रोत बताउँछ।
