Amargadhi Post

बैतडीमा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन, ख्याल गर्न चेतावनी

अमरगढी पोष्ट समाचार
बैतडी । आसन्न स्थानीय तह चुनावको मनोनयन दर्ता गर्दा दलहरुले निर्वाचन आचारसंहिताको ब्यापक उल्लंघन गरेको पाइएको छ । निर्वाचन आचारसंहिता २०७८ अनुसार निर्वाचनका क्रममा राजनीतिक दलहरुले झण्डा लगायत दलको चिन्ह अंकित कुनै पनि सामाग्री बोकेर जुलुस वा प्रचारमा हिड्न नपाउने ब्यवस्था छ ।

तर, बैतडीका राजनीतिक दलहरुले सोमवार मनोनयन दर्ता गराउने क्रममा त्यसको ब्यापक उल्लंघन गरेको पाइएको छ । जिल्लाका बिभिन्न स्थानीय तहमा मनोनयनको कार्यक्रम गर्दा दलहरुका झण्डाले अधिकृत कार्यालय भरिभराउ थियो । आचारसंहिता विपरीत सयौं झण्डा फहराउँदै प्रशासन अगाडि नै दलहरुले निर्धक्कका साथ जुलुस गरे ।

बैतडीका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरुलाई आचारसंहिताको ख्याल गर्न चेतावनी दिएको छ । आफैले प्रतिवद्धता जनाएको आचारसंहिता उल्लंघन गरेको भएपनि आइन्दा पूर्ण रुपमा पालना गर्नुपर्ने मुख्य निर्वाचन अधिकृत तिलक बहादुर कार्कीले बताए ।

‘सर्बदलीय बैठकमा दलहरुसँग छलफल भयो । पार्टीको चुनाव चिन्ह भएको झण्डा, टोपी, ब्यानर, टिसर्ट प्रदर्शन गर्न पाइदैन भनेर हामीले जानकारी गराएका हौं,’ मुख्य निर्वाचन अधिकृत कार्कीले भने, ‘चुनाव भड्किलो हुँदैन, खर्च कम हुन्छ, त्यसैले आचारसंहिता पूर्ण पालना गर्नुस ।’

मनोनयनका क्रममा आचारसंहिता उल्लंघन भएपनि आइन्दा त्यसो भए निर्वाचन आयोगले दिएको निर्देशन अनुसार कडा रुपमा प्रस्तुत हुनुपर्ने अवस्था आउने उनले बताए । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लास्थित राजनीतिक दलहरु पूर्ण रुपमा चुनावमा होमिएका छन् ।

जनप्रतिनिधीहरुको दौडमा कतै गठबन्धत त कतै एक्लाएक्लै रुपमा होमिएका उम्मेदवारहरु पूर्ण तयारीका साथ भोट माग्दै गाउँ गाउँ डुल्न थालेका छन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।