मानबहादुर साँउद
अमरगढी,कार्तिक,७ गते । डडेल्धुरामा रहेको ऐतिहासीक किल्ला अमरगढीमा पहिलो पटक राष्ट्रिय झण्डा फहराईएको छ । अगरगढी नगरपालिकाको मुख्य बजार चोकभन्दा ठिक चार सय मिटरमा अबस्थित किल्ला पर्यटन पुर्बाधार क्षेत्र बिकास समितिको अगुवाईमा झण्डा गाडिएको हो ।
अमरगढी किल्ला पर्यटन पुर्बाधार क्षेत्र बिकास समिति डडेल्धुराले पर्यटन बर्ष २०२० लाई सफल तुल्याउन राष्ट्रिय झण्डा गाडिएको बताईएको छ ।
पर्यटकीय गनतब्य बनाउन क्षेत्र बिकास समितिले सरसफाई अभियान देखि पर्चा पम्पलिट गर्दे प्रचार प्रशारमा जोड दिएको छ । राष्ट्रिय झण्डा गाडेर बडाकाजी अमरसिह थापाले निर्माण गरेको किल्लालाई मुख्य पर्यटकीय क्षेत्रका रुपमा स्थापित गराउन समिति अघि बढेको बताईएको छ ।
अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले एक औपचारिक कार्यक्रमका बिच आज झण्डोतलन गरेर उद्घाटन गरेका हुन । समुद्री सतहबाट लगभग छ हजार ५०० फिट उचाइमा रहेको छ । डडेल्धुराका निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थी सुरक्षा निकाय, किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिका पदाधिकारी, सामाजिक एकता क्लव र पर्यटन व्यवसायी बेद उप्रेतीको सहभागितामा राष्ट्रिय झण्डा गाडिएको हो ।
गत वर्ष सरकारले छनोट गरेका १०० नयाँ पर्यटकीय गन्तव्यमा ‘अमरगढी किल्ला’ पनि परेको छ । अमरगढी नगरपालिकाले योजनाबद्ध रुपमा किल्लाको संरक्षण गर्ने जनाएको छ । चालू आर्थिक वर्षमा संघीय सरकारले किल्लाका लागि ससर्त अनुदान तर्फ २० लाख रुपैयाँ विनियोजन गरेको अमरगढी नगरपालिकाका नगरप्रमुख ओझाले जानकारी गराउनुभयो । सय नयाँ पर्यटकीय गन्तव्यमा अमरगढी किल्ला पनि परेकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट थप ५० लाख रुपैयाँ किल्लाका लागि आउने तयारी भईरहेको नगर प्रमुख ओझाले जानकारी दिनुभयो ।
अमरगढी नगरपालिका यही किल्लाको नामबाट २०५४ सालमा नामाकरण गरिएको हो । नगरपालिकाले स्थापनापछि २०५६ सालमा किल्लालाई आफ्नो मातहतमा ल्याएको थियो । तर २०५८ सालमा तत्कालीन माओवादी द्धन्द्धका बेला जिल्लालाई सुरक्षा दिन यो किल्ला नेपाली सेनाले आफू मातहत ल्याएको थियो । त्यसपछि किल्ला पर्यटकका लागि प्रतिबन्ध लगाइएको थियो । २०५८ देखि २०६६ सालसम्म किल्ला सेना मतहत रह्यो। स्थानीयको पटक–पकटको प्रयासपछि २०६६ साल पुसदेखि अमरगढी नगरपालिकाले रेखदेख र सञ्चालन गर्ने जिम्मा पाएको हो ।
बडाकाजी अमरससिंह थापाद्वारा निर्मित यो किल्ला विशाल ढुंगाले कलात्मक तरिकाले बनाइएको छ । किल्लाभित्र युद्ध गर्नका लागि सैनिकहरूका लागि २२ वटा गुफाहरू बनाइएको छ । यसैगरी युद्ध छल्न तथा सफलताका लागि शस्त्र निरोध गर्ने मार्ग समेत निर्माण गरिएको छ ।
अहिले भएका किल्लाको माथिल्लो भागका ठूलाठूला रूखहरूका कारण किल्लाकै ऐतिहासिक गौरव अझै झल्किन्छ भने किल्लाको बीच भागका रहेको भैरवको मन्दिरले धार्मिक महत्व पनि झल्काउँछ ।
छिमेकी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङका साथै कैलाली, कञ्चनपुरबाट समेत घुम्नका लागि पर्यटक आउने गर्दछन । सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशबाट पनि डडेल्धुरा आउने आन्तरिक पर्यटकहरु किल्ला अबलोकन गरेर फर्किन्छन । सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालय र क्याम्पसहरुले विद्यार्थीलाई अमरगढी किल्ला घुमाउन ल्याउने गर्दछन ।
