Amargadhi Post

डडेल्धुराका सातवटै स्थानियतहमा आमा—शिशु स्वास्थ्य सुधार कार्यक्रम सुरु

लक्ष्मी ऐर 
डडेलधुरा, साउन १० । डडेल्धुरामा आमा, नवजात शिशु तथा बालबालिकाको स्वास्थ्य र पोषण अवस्था सुधार गर्ने उद्देश्यले सातवटै पालिकामा कार्यक्रम सुरु हुने भएको छ । संयुक्त राज्य अमेरिकाको आर्थिक सहयोगमा सञ्चालन हुने यो कार्यक्रम जिल्लाका सातवटै स्थानीय तहमा एकै साथ कार्यान्वयन गरिने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा, एपिक नेपाल र ग्रामीण महिला विकास तथा एकता केन्द्रको सहकार्यमा आमा, नवजात शिशु तथा बाल स्वास्थ्य र पोषण सुधार कार्यक्रमको जिल्ला स्तरीय शुभारम्भ तथा अभिमुखीकरण कार्यशाला सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न सरकारी निकाय, स्थानीय तह, स्वास्थ्य संस्था, विकास साझेदार र अन्य सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रम मार्फत गर्भावस्था देखि सुत्केरी अवस्था सम्मका महिला, नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकाले पाउने स्वास्थ्य र पोषण सेवाको पहुँच तथा गुणस्तरमा सुधार गरिने जनाइएको छ । स्वास्थ्य संस्थामा आवश्यक औषधि, उपकरण तथा सामग्रीको उपलब्धता बढाउने, विपद् तथा आपत्कालीन अवस्थामा पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने र औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

  कार्यशालामा जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाको समग्र स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै आमा तथा नवजात शिशुको मृत्यु दर अपेक्षित रूपमा घटाउन अझै धेरै प्रयास आवश्यक रहेको जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अमरबहादुर ओलीले जिल्लामा आमा, नवजात शिशु तथा बाल स्वास्थ्य र पोषणका क्षेत्रमा अझै धेरै चुनौती रहेको उल्लेख गर्दै कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि प्रशासनबाट आवश्यक सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीले कार्यक्रमले आमा तथा नवजात शिशुको मृत्यु दर घटाउन, बालबालिकामा देखिने कुपोषण कम गर्न र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

 उनले कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक अनुगमन र सहकार्यमा निरन्तर साथ रहने समेत बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउदले यो कार्यक्रमले जिल्लाको समग्र स्वास्थ्य अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै सबै सरोकारवालाप्रति आभार व्यक्त गर्नुभएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।