धनगढी, २५ पुस । सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएका प्रमाण, मन्त्रालयको आधिकारिक स्रोतले दिएको प्रतिक्रिया र गाडीमा लेखिएका मिति बाझिएको छ । सामाजिक विकास मन्त्रालयले २०१९ मोडेलकै टाटाका मिनी ट्रक खरीद गरेको जनाएको छ ।
एम्बुलेन्स प्राप्त गर्ने कतिपय स्वास्थ्य संस्थाले मन्त्रालयले दिएका एम्बुलेन्सहरु २०१४ मोडेल भएको दावी गर्दै आएका छन् । सामाजिक विकास मन्त्रालयले वितरण गरेको एम्बुलेन्सका जति पार्टपूर्जामा उत्पादन मिति उल्लेख गरिएको छ । ती सबैमा फरक छ ।
अझ कतिपय स्टिकरमा अरु सबै कुरा छ । तर उत्पादन मितिको भाग भने च्यातिएको छ ।अझ रोचक कुरा त भने कतिपय पुराना स्टिकर च्यातिएका छन् । ती स्टिकरको स्थानमा नयाँ स्टिकर राखिएका छन् । ती स्टिकरमा उत्पादन मिति सहितको जानकारी हुनुपर्नेमा ती सबै स्थान रिक्त छन् ।
जस्तै एम्बुलेन्सको क्वालिटि एसुरेन्स लेखिएको स्टिकरमा २०१९ अप्रिल २५ उल्लेख छ । अर्कोमा २०१९ मार्च उल्लेख छ । अर्कोमा २०१६ अप्रिल ६ लेखिएको छ । एउटा सामानमा २०१९ मार्च २६ उल्लेख छ ।
टाटा कम्पनीका गाडीमा टाटाले आफ्ना बाहेक अरु कम्पनीका सामानहरु प्रयोग गर्दैन । उसले व्याट्रीदेखि ईञ्जन, हर्न, एसी लगायत सबै आफ्नै कम्पनीको प्रयोग गर्छ । टाटाले गुणस्तरमा सम्झौता गर्दैन ।
ती पार्टपूर्जामा सन २०१६, सन २०१८ र २०१९ का स्टिकर टासिएका छन् । कतिपय स्टिकरहरुमा २०१९ लेखिएको छ । २०१९ लेखिएका पार्टपूर्जामा पनि महिना र गते भने फरक फरक छ ।
तर सामाजिक विकास मन्त्रालयले टाटा कम्पनीबाट खरीद गरेर बाडेका एम्बुलेन्समा मूख्य व्याट्री एम्रोन कम्पनीको छ । अर्को व्याट्री एक्साईड कम्पनीको छ । एसी कम्प्रेसरमा मेड ईन जापान लेखिएको छ । हर्न हेल्ला कम्पनीको छ । पाईपमा मदरसन सुमी सिस्टम लिमिटेड लेखिएको छ ।
टाटा कम्पनीका नयाँ गाडीमा वारेण्टी हुने भएकोले त्यसमा छेडखानी गर्न मिल्दैन । तर स्वास्थ्य संस्थालाई वितरण गर्नुभन्दा पहिले नै अधिकांश सामानहरु छेडखानी गरिएको पनि त्यहाँ राखिएका फरक फरक कम्पनीका सामानहरु स्पष्ट हुन्छ । अर्थात सामाजिक विकास मन्त्रालयले नयाँ मोडेलका भनेर वितरण गरिएका थुप्रै सामान पुराना छन् ।
ती एम्बुलेन्सहरु २०१९ मै बनेका भए सबै पार्टपूर्जामा २०१९ लेखिएको हुनुपर्ने थियो । सबैको उत्पादन मिति केरमेट र परिवर्तन गरिनुहुदैनथ्यो । २०१९ मोडेलकै एम्बुलेन्स देखाउन पुराना स्टिकर फालेर त्यसको ठाँउमा खरीद र बिक्री गर्नेकै मिलेमतोमा हतारमा नयाँ स्टिकर टास्ने क्रममा फरक फरक मितिको स्टिकर टाँसिएको हुन सक्ने एम्बुलेन्स चालकहरु बताउछन् ।
एम्बुलेन्सको पछाडि पट्टिको ढोकामा तीन वटा तीन स्क्रु छन् । एउटै ठाँउमा लाग्ने स्क्रु पनि फरक फरक छन् । ईसीजी मनिटर काम चलाउ छ । न राम्ररी राखिएको छ । बाटोमा यो हल्लेर खस्ने अवस्थामा छ । बिरामीको सिरानीमा रहेका कुनै पनि घर्रामा लक सिस्टम छैन । उकालोमा गाडी चढ्दा सबै घर्रा खसेर बिरामी र कुरुवाको शरीरमा खस्ने अवस्था छ । र दुई वटा घर्राको लक पहिले नै तोडिएको छ ।
एम्बुलेन्स चालकहरुले व्याट्री कमसल खालको र पुरानो भएकोले स्टार्ट गर्दा धक्का दिनुपर्ने अवस्था रहेको गुनासो गरेका छन् । संयुक्त एम्बुलेन्स चालक संघका सुदूर पश्चिम प्रदेश अध्यक्ष तथा केन्द्रिय सदस्य लक्ष्मण सिंहले गाडीको ब्रेक राम्रोसंग नलाग्ने, ब्रेक लगाउदा गाडी कतातिर जाने हो थाह नहुने, पहाडी जिल्लाका कच्चीबाटो चल्नै नसक्ने, ईन्धन अत्याधिक खाने, स्टार्ट गर्न धक्का दिनुपर्ने, मोडमा घुमाउदा पल्टिने जोखिम अत्यन्त भएको बताए ।
उनले सामाजिक विकास मन्त्रालयले फेलियर मिनि ट्रकलाई एम्बुलेन्स बनाएर बाडेको गुनासो गरे । यो चलाउने चालक र यसमा यात्रा गर्ने बिरामीको ज्यान जोखिममा छ, एम्बुलेन्सको काम त अरुको ज्यान जोगाउने हो, सिंहले भने, आफ्नै ज्यान जोखिममा राखेर यो गाडी हामी चलाउन सक्दैनौ । उनले सुदूरपश्चिमका कुनै पनि चालकले आफ्नो ज्यान जोखिममा राखेर सामाजिक विकास मन्त्रालयले दिएको एम्बुलेन्स नचलाउने बताए ।
संयुक्त एम्बुलेन्स चालक संघका सुदूर पश्चिम अध्यक्ष सिंहले सेती प्रादेशिक अस्पताललाई मन्त्रालयले दिएको एम्बुलेन्स दुई महिनामा एक दिन मात्र चलेको बताए ।
उनले पहाडी जिल्लाका अधिकांश एम्बुलेन्स पनि थन्किएको र कुनै पनि चालकले यो एम्बुलेन्स तयार नभएको सुनाए । तराईमा नै चलाउन नसक्ने अवस्थाको एम्बुलेन्स पहाडमा कसरी चल्छ, सिंहले भने, एक चक्के गाडी पल्टिने निकै जोखिम हुन्छ । यो मोडेल पहिले पनि धेरै दुर्घटनामा परिसकेको छ ।
