बोनिता शर्मा
संसारका २ सय ८ देशहरुमा एकै समयमा द्रुत गतिमा फैलिरहेको कोरोना भाइरसले विश्वव्यापी त्रासदी फैलाइरहेको छ । आजको मितिसम्ममा बाह्र लाभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने मर्नेहरुको संख्या सत्तरी हजार पुगिसकेको छ । विश्वका शक्तिशाली भनिएका देशहरु अमेरिका, बेलायतलाईसमेत यो रोगले हायलकायल पारेको छ । अन्यत्रको तुलनामा, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या कम देखिए पनि हामी अत्यन्तै सजग रहनुपर्ने अवस्था छ। किनभने हालै मात्र विदेशबाट फर्किएका व्यक्तिबाट परिवारका सदस्यमा भाइरस सरेको प्रमाण फेला परिसकेको छ। यद्यपि, संक्रमितहरु हातमा गन्न सकिने संख्यामा भए पनि, उचित रोकथामका उपायहरु अवलम्बन नगरेमा, विदेशबाट संक्रमित भएर फर्किएकाबाट परिवार, त्यसबाट समुदाय र एक समुदायबाट अर्को समुदायमा संक्रमण हुँदै देशैभरि रोग फैलिएर नियन्त्रण गर्नै नसकिने ठूलो महामारीको रुप लिन धेरै समय लाग्दैन। र, यस्तो भयावह स्थितिको सामना गर्न हाम्रो देश सक्षम भइसकेको अवस्था छैन।
अहिले नै पर्याप्त परीक्षण गर्न, विदेशबाट फर्किएका सबैलाई पहिचान गरी क्वारेन्टाइनमा राख्न र व्यक्तिगत सुरक्षा उपकरण९पीपीई०को व्यवस्था गर्न सरकारी निकायलाई हम्मेहम्मे परिरहेको छ। त्यसकारण, हामी आफैंले आफू र आफ्नो परिवारको सुरक्षा ख्याल गरेमा महामारीको अवस्था आउन नदिइ बेलैमा रोकथाम गर्न सक्छौँ।
कोरोना भाइरस, संक्रमित व्यक्तिहरुले खोक्दा वा हाछ्युँ गर्दा निस्केका थुक र सिँगानमार्फत नजिकको स्वस्थ मानिसको शरीरभित्र प्रवेश गर्ने हुँदा जो कोहीले कम्तीमा ६ फिटको दूरी कायम राख्नु पर्दछ। यसबाहेक यो भाइरस शरीर वा सतहमा समेत रहिरहन सक्छ। हातमार्फत आँखा, नाक र मुखबाट शरीरभित्र प्रवेश गर्न पनि सक्ने भएकोले जनस्वास्थ्य विज्ञहरूले हात धुने कुरामा विशेष जोड दिँदै आएका छन्। कम्तीमा बीस सेकेन्ड साबुन पानीले मिचिमिची हात धोएमा वा स्यानिटाइजरको प्रयोग गरेमा संक्रमणको जोखिमलाई कम गर्न सकिन्छ। त्यसैगरी हातले अनुहार नछुने, भीडभाडमा नजाने, खोक्दा हाच्छ्युँ गर्दा नाक मुख छोप्ने, मास्कको प्रयोग गर्ने र व्यक्तिगत सरसफाइमा ध्यान दिने गरेमा आफू र अरूलाई पनि संक्रमण हुनबाट जोगाउन सकिन्छ।
अहिले कोरोना भाइरसको रोकथाम र उपचार गर्ने उपायबारे विश्वव्यापी अध्ययन र छलफल चलिरहेको छ। समुदाय तथा सामाजिक सञ्जालमा थुप्रै भ्रामक जानकारीहरुको बाढी नै आइरहेको छ। द गार्डियन पत्रिकाका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वास्थ्यविद्को सिफारिसबिना हाइड्रोक्सिक्लोरोक्विन नामक औषधिले कोरोना भाइरस निको पार्छ भनेकाले एरिजोनामा एक व्यक्तिले भाइरस निको पार्न सो औषधि खाएर ज्यानै गुमाउनुपर्यो। यस्तो गम्भीर कुरामा हेल्चेक्रयाइँ गरेमा मानिसको ज्यानै जान सक्ने परिस्थिति नआउला भन्न सकिन्न। त्यसकारण सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्ता जानकारीको सत्य, तथ्य र स्रोत बुझेर मात्रै सेयर गर्नुपर्छ।

कोरोना भाइरसले राष्ट्र, वर्ण, जात र धर्म चिन्दैन। यसले धनी गरिब विभेद नगरी जोकसैलाई पनि संक्रमण गर्न सक्छ। तैपनि, यस महामारीको प्रत्यक्ष मारमा भने निम्न आर्थिकस्तर भएका, दैनिक ज्याला मजदुरी र साना व्यवसाय गरी खानेहरु परेका छन्। गास, बास र कपास हाम्रो नैसर्गिक अधिकार भए तापनि, गरिबीका कारण धेरैजना लकडाउनको अवस्थामा जोखिम मोलेर बेवारिस बस्न, हिँडेर सयौं किलोमिटरको दूरी पार गर्दै आफ्नो घर जान बाध्य भइरहेका छन्। गर्भवती, सुत्केरी, बालबालिका, वृद्धवृद्धा र फरक क्षमता भएका व्यक्तिहरु पनि अप्ठेरोमा पर्दैछन्। यस्तो अवस्था लम्बियो भने पोेषणको अभावमा दीर्घकालीन रुपमा व्यक्ति, समुदाय र राष्ट्रकै स्वास्थ्य, शिक्षा र आर्थिक क्षमतामा ह्रास आउने छ। देशको कूल ग्राह्यस्थ उत्पादनमा चरम असर पर्ने छ।
धेरैले लकडाउनको घोषणा भएलगत्तै केही दिनलाई पुग्ने उपभोग्य सामान जोहो ग¥यौँ। कतिपयले फोनमार्फत डेलिभरी गर्न पनि लगायौँ। तर आपत्कालीन अवस्थामा सबैको यस्तो पहुँच कहाँ हुन्छ ररु त्यसकारण स्थानीय निकाय, समुदाय र संघसंस्था मिलेर निम्न आर्थिक अवस्था भएका श्रमजीवीको पहिचान गरेर खाद्य सामग्रीहरु सुरक्षित रुपमा उपलब्ध गराएमा भोकमरी, कुपोषण र यसले निम्त्याउन सक्ने अन्य रोगको भयानक चक्रलाई तोड्न सकिन्छ। कतिपयले त यस्तो अभियान आ–आफ्नो समुदायमा सुरु पनि गरिसक्नु भएको छ। यस्ता उल्लेखनीय कार्यहरुको प्रभावकारिता बढाउन हामी सबैले खाद्यवस्तुको उचित व्यवस्थापन गर्न जान्नु आवश्यक हुन्छ।
आपत्कालीन अवस्थामा खाद्यवस्तु कसरी व्यवस्थापन गर्नेरु
लकडाउनको अवस्थामा हरेक दिन ताजा तरकारी र फलफूल उपलब्ध नहुन सक्छ। त्यसैले यस्तो बेलामा पिठो, च्यूरा, चामल र विविध गेडागुडीको सञ्चय गर्नुपर्छ किनभने यस्ता खानेकुरा छिटो बिग्रिन्न। गेडागुडीको क्वाँटी टुसा उमारेर तरकारी वा सलादको रुपमा प्र्रयोग गर्न सकिन्छ। यसबाट प्रशस्त प्रोटिन, भिटामिन, खनिज र फाइबर पाइन्छ।
कतिपयले खाद्य राहतमा प्याकेटको चाउचाउ वा बिस्कुट बाँड्ने गरेको पाइन्छ। यस्ता पत्रु खानाले पेट भरिए पनि शरीरमा पोषण पुग्दैन। तर त्यति नै वा अझ कम खर्च लाग्ने पोषिला स्थानीय खाद्यान्न दिनु उचित हुन्छ। त्यसबाहेक राहत सामग्रीमा दाल, चामलरचिउरारपिठो, गेडागुडी, नुन, तेल, साबुन, प्याड दिन सके अत्यन्तै राम्रो हुन्छ। यदि गर्भवती र सुत्केरी महिलाहरु छन् भने थप सातु, लिटो, चाकु, सख्खर, ज्वानो र मेथी दिनु उचित हुन्छ।
कोरोना भाइरसले कुनै पनि उमेर समूहलाई असर गर्न सक्दछ, तर वृद्धवृद्धा र मधुमेह, मुटु र श्वासप्रश्वाससम्बन्धी रोग भएका व्यक्तिहरूमा भने संक्रमणको जोखिम झनै बढी हुन्छ। त्यसकारण राहत बाँड्दा यस्ता समूहको स्वास्थ्य तथा पोषण आवश्यकताहरूलाई उच्च प्राथमिकतामा राख्नुपर्दछ।
खानेकुरा तथा इन्धनको अभाव हुन नदिन पोषिलो खिचडी र दूध भए खिर खान सकिन्छ। त्यसैगरी लकडाउनको बेला घरै बसिरहेको समयलाई सदुपयोग गरेर गुन्द्रुक, सिन्की र मस्यौरा पनि बनाउन सकिन्छ। यी खानेकुराहरु छिट्टै नबिग्रने हुनाले लामो समयसम्म प्रयोग गर्न मिल्छ र यसबाट पनि प्रचुर मात्रामा प्रोटिन, भिटामिन, खनिज तत्वहरु पाइन्छ।
यी बाहेक लामोसमयसम्म टिक्ने मुला, काँक्रो, गोलभेडा, लसुन आदिको अचार पनि बनाउन सकिन्छ। यसले पेटलाई फाइदा गर्नुका साथै खानेकुरा पचाउँछ। र कहिलेकाँहीे अभाव हुँदा तिउनको रुपमा पनि काम गर्छ।
गर्मीयाम सुरु भएकाले छिटो बिग्रन सक्ने खानेकुरालाई सुरुमा प्रयोग गर्नुपर्छ। कतिपय अवस्थामा भने खानेकुरा धेरै भएर मिल्काउनु पर्ने पनि हुन सक्छ। दूध छिटै बिग्रने भएकाले यसको व्यवस्थापन गर्न दही जमाएर वा पनिर बनाएर तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ। धेरै माछारमासु छ भने, त्यसलाई आगो वा घाममा सुकाएर सुकुटी बनाइ लामो समयसम्म प्रयोग गर्न सकिन्छ।
त्यसैगरी केलाएर फ्याँकिएका तरकारी र खानेकुरालाई कुहाइ मल बनाएर त्यसलाई करेसाबारी वा गमलामा धनियाँ, पुदिना, खुर्सानी, प्याजलगायतका सागसब्जी रोप्न प्रयोग गर्दा घरैमा अर्गानिक उत्पादन गर्न सकिन्छ।
खानेकुरा किन्दा सकेसम्म छिटो नबिग्रने छान्नुपर्छ र खाना बनाउँदा राम्ररी सफा गरी पकाउनुर्छ। तर चाहिनेभन्दा बढी समय पकाएर पौष्टिक तत्व नाश हुन भने दिनुहुन्न। यदि घरमा फ्रिज उपलब्ध भएमा बढी भएको खानेकुरा भण्डार गरी पुनः प्रयोग गर्न सकिन्छ र नभएमा खानेकुरालाई घाम नपर्ने ठाँउमा जोगाएर राख्न सकिन्छ।
कुनै विशेष खाना खाँदैमा हामी कोरोना भाइरसबाट सुरक्षित हुन सक्ने भनेर हालसम्म कुनै पनि अध्ययनले प्रमाणित गरेको छैन। तर पर्याप्त पानी र सन्तुलित आहारले शरीरको प्रतिरक्षा प्रणालीको क्षमता बढाउँछ र रोगहरूविरूद्ध लड्न मद्दत गर्दछ। त्यसकारण दैनिक रुपमा समुदाय स्तरमा उपलब्ध हुने कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज र फाइबरहरु सबैले आफ्नो खानकीमा समावेश गरौँ।
विशेषगरी भिटामिन ए ९हरियो सागपात, पहेंलो फलफूल, गाजर, अण्डा, कलेजो०, भिटामिन बी ९अन्न, गेडागुडी, मासु, तरकारी०, भिटामिन सी ९भेडेखुर्सानी, अमला, गोलभेडा, कागती, निबुवा, अमला, भोगटे, सुन्तला०, भिटामिन डी ९घाम, अण्डा, माछा०, भिटामिन ई ९बदाम, तील, आलस० र आइरन ९कर्कलो, कलेजो, सागपात, गेडागुडी, फर्सिको बियाँ०, सेलेनियम ९दूध, दही, माछारमासु० तथा जिंकयुक्त ९माछारमासु, गेडागुडी० खानेकुराहरुमा जोड दिऔँ।
यी बाहेक बेसार, अदुवा, लसुन, टिम्मुर, तेजपात, मेथी, जिरा, धनियाँ, ज्वानोलगायतका गरम मसला तथा जडिबुटीलाई पनि आहारमा समावेश गरौँ किनभने यी भिटामिन, खनिज र रोगसँग जुध्ने क्षमताले भरिपूर्ण छन्।
आपत्कालीन परिस्थितिमा नआत्तिऔँ, नडराऔँ। सुरक्षित व्यवहार, स्वस्थ जीवनशैली र पौष्टिक आहारले हामी आफू र आफ्नाको रक्षा गर्न सक्छौं। सामाजिक दूरी कायम गर्नु परे तापनि सद्भाव र मानवताले नजिक रहौँ र मिलेर कोरोनासँग लडौँ।
