लक्ष्मी ऐर
डडेल्धुरा,बैसाख,३ गते । कोरोना भाइरस परीक्षणका लागि डडेल्धुराका १९९ जनाको नमुना संकलन गरिएकोमा ९७ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको परीक्षणबाट ९७ जनाको रिपोर्ट नेगेटिभ आएको हो । अन्य १०२ जनाको रिपोर्ट आउन बाँकी छ ।
यहाँका विभिन्न क्वारेन्टाइनमा बसेका मानिसहरूको गत चैत २७ गते ‘थ्रोट स्वाब’ संकलन गरिएको थियो । सोही दिन नमुना काठमाडौं पठाइएको थियो । डडेल्धुराका तीन स्थानबाट ‘थ्रोट स्वाब’ संकलन गरिरहेको थियो । डडेल्धुरा सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पस, परशुराम नगरपालिकास्थित त्रिवेणी बहुमुखी क्याम्पस र शिवशंकर मावि सादनीबाट कोरोना परीक्षणका लागि ‘थ्रोट स्वाब’ संकलन गरिएको थियो ।
