टेकराज अवस्थी
डडेल्धुरा जिल्लामा अहिले सामुदायिक बिद्यालय, निजी बिद्यालय, रेडक्रस भवन, सामुदायिक भवनहरु गरेर जम्मा १२४ स्थानलाई कोरोना रोकथामका लागि क्वारेन्टाईन बनाईएको छ ।
जसमध्ये सदरमुकाममै रहेका क्वारेन्टाईनहरु पनि भौतिक पूर्बाधार, खानेपानी शौचालय व्यवस्था नहुँदा अस्तव्यस्त रहेका छन ।
भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका डडेल्धुराका नागरिकहरुलाई राखिएको क्वारेन्टाईनमा बस्नका लागि उचित व्यवस्था, खानेपानी लगायत अत्याबश्यक व्यवस्थापन नहुँदा क्वारेन्टाईनको रुपमा प्रयोग भएका बिद्यालयहरु नाम मात्रका रहेछन भन्दा अतिसयुक्ति नहोला ।
करिब दुई हप्ता यता भारतबाट घर फर्केका सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा आईतवार सम्मसात स्थानीय तहका १२४ क्वारेन्टाईनमा २३४ जना महिला र ११५ वालबालिका सहित ३८११ जना क्वारेन्टाईनमा रहेका छन तर आधारभूत ब्यवस्था सहितको व्यवस्थित क्वारेन्टाईन भने बिरलै मात्र रहेको देखिन्छ ।
एकातिर डडेल्धुरा जिल्लालाई भारतबाट नेपाल आउने नागरिकहरुलाई ओसार्ने र पठाउने ट्रान्जिट प्वाईन्ट बनाईएको भए पनि क्वारेन्टाईमा बसेका नागरिकलाई स्थानान्तरण गर्दै बिभिन्न ठाउँ सारिदै सार्बजनिक यातायातका साधनहरु बुकिङ गर्दै स्थानीय तहबाट पहल गरि घरतिर जाने लैजाने व्यवस्था पनि धमाधाम भईरहेको छ तर क्वोरेन्टाईमा बस्दासम्म भने उचित बाताबरण नागरिकले पाउन सकिरहेका छैनन ।
सदरमुकामको केन्द्रमा रहेको महेन्द्र माध्यमिक बिद्यालय कुनै समयमा नमूना बिद्यालय पनि हो, २०१४ सालमा स्थापना भएको यो बिद्यालय डडेल्धुराका लागि ऐतिहासिक र सबैको पायक पर्ने, गुणस्तरीय शिक्षाका लागि आशा भरोसाको केन्द्र पनि हो । यो शैक्षिक संस्थाबाट शिक्षा आर्जन गरेका बिभिन्न व्यक्तित्वहरु देशको शासन चलाउने मुख्य जिम्मेवारी देखि बिभिन्न क्षेत्रका लागि उच्च पदस्थ कर्मचारी, राजनीतिकर्मी, पेशाकर्मी उतपदन गरेर गौरब कमाएको प्रतिष्ठान पनि हो । पछिल्लो समयमा यस संस्थाको संस्थागत र भौतिक पूर्बाधार विकासका लागि राज्यका बिभिन्न निकायको, नेपाल भारत मैत्री संघ लगायत बिभिन्न दाताहरुको धेरै लगानी भएकोले पुराना संरचना बिस्थापित गर्दै आधुनिक शैलीमा भवन त निर्माण भएको छ मानविय जीवन र आवश्यकताको पहिलो शर्त खानेपानी र शौचालयको अवस्था भने दयनिय रहेको क्वारेन्टाईनमा बस्नेहररुले अनुभव गरेका छन ।
न व्यवस्थित पानी छ न शौचालय, कसरी प्रयोग गर्ने भन्ने चिन्ता हामीलाई छ, एकातिर जथाभाबी फोहर छ त्यसमा पनि शौचकक्ष कम भएकाले लाईन लाग्नु पर्छ त्यतिबेला सम्म त दुर्गन्धले हामीलाई बिरामी पार्छ कि भन्ने पिर लागिरहछ एक जनाले बताए ।
अर्का एक जनाले बताए के यो बिद्यालय सधै यस्तै हो हजुर? हाम्रा बालवालिका कसरी पढछन यस्तो बिद्यालयमा ? सरसफाई भन्ने केहि छैन क्वारेन्टाईमा बसेका अमरगढी नपा कै एक अर्काले भने यस्तो स्कुलमा बिद्यार्थीले के सिक्छन के पढछन के बुद्धि आउँछ बेकार रैछ ।
क्वारेन्टाईनमा न त पर्याप्त पानी छ न व्यवस्थित शौचालय नै, खाने सुत्ने व्यवस्था अलगअलग भए पनि अगाडी आएका र पछाडी आएकाहरुको लागि पानीको धारा एउटै भएकोले आफूहरुलाई जोखिम बढेको उनिहरुको भनाई छ ।
साथै भारतका बिभिन्न स्थानबाट अनेकौं दुखकष्ट झेल्दै घर नजिक पुगेर जिल्लाको क्वारेन्टाईनमा बस्न पाउँदा हर्षित भएका उनिहरु आफ्ना छोराछोरीले पढने सरस्वती मन्दिर र बिशेष परिस्थितिले बस्नु परेको क्वारेन्टाइनको अवस्था हेर्दा र भोग्दा झन दुखित भएका छन ।
हुन त जिल्लाका सबै बिद्यालयको अवस्था उस्तउस्तै हो, डडेल्धुरा जिल्ला खानेपानी पहुँचमा ८५ प्रतिशत भन्दा बढि छ, खुला दिसा र शौचालको अवस्था भन्ने हो भने देशकै १५ औं खेला दिसामुक्त क्षेत्र हो तर संस्थागत रुपमा शौचालयको अवस्था अध्ययन अबलोकन गर्ने हो भने कहि पानी नै छैन कतै पानी छ त व्यवस्थापन छैन, किनकी सरकारी बिद्यालय हो कस्ले सरसफाई गर्ने, कतैकतै देखाउनका लागि भए पनि निर्माण भएका र लक्ष्य हासिल गर्नका लागि बनाईएका अस्थायी र स्थायी शौचालयमा आवश्यक पानी नहुँदा खरघाँस राखिएका छन भने कतै प्रयोगकर्ताको लापरवाहीका कारण जिर्ण बन्दै गईरहेका छन ।
प्राथमिक बिद्यालय होस वा उच्च शिक्षा हासिल गर्ने क्याम्पस सबैको हालत लगभग केहि फरकफरक बाहेक समग्रमा समान जस्तै छ, कतैकतै बिदालयका शौचालय भवन वा बाहिर राखिएका पानीका टंकीहरु फोहर, टुटफूट र प्रयोग बिहिन छन भने कतै वालवालिकाले स्वच्छ पानीको अभाव झेल्दै या त घरबाट ल्याउनु पर्ने अवस्था छ या दुर्गन्धित पानी पिउनु पर्ने । दिगो गुणस्तरिय तथा दिर्घकालिन योजना नहुँदा बिदालयहरु सबै भन्दा बढि विकास निार्मण कार्यबाट प्रभाबित भईरहेकाले यो बिशिष्ट अवस्थामा मात्र खोजेर कहाँबाट पाउँने गम्भीर प्रश्नको जवाफ कसले दिने ? हिजो कर्मचारी हुँदा बिभिन्न आरोप लगाउने बर्तमान निर्वाचित जनप्रतिनिधिको जिम्मेवारीमा पनि काम गर्ने शैली पुरातन नै छ ,जनताको आवश्यकता र बजेट कार्यान्वयन तथा यस्तो बिषम परिस्थितिमा पनि प्रभाबकारिता ध्यान पु¥याईदैन भने जनताको जनमत र अभिमतको औचित्य माथी प्रश्न उठदैन र ?
अहिले जनताको घरघरमा सरकार पुगेको भनिन्छ तर सार्बजनिक र अत्याबश्यक आधारभूत आवश्यकताको विषयमा स्थानीय सरकारले कति काम गरेको रहेछ भन्ने दुर्दसाको चित्रण घाम जस्तै छर्लङ्ग रहेको छ ।
फोहर छ वा व्यबस्थित छैन भनेर कसैले उन्मुक्ति पाउनु हुँदैन फोहर गर्ने बिद्यार्थी पनि त्यत्तिकै जिम्मेवार छन बिद्यालय परिसरमा रहेका संरचनाको सुरक्षा तथा अभाबलाई परिपुर्ति गर्न व्यक्तिगत तथा सामूहिक भुमिका निर्वाह गर्नु पर्दछ, किनकी पाठशालाको समग्र व्यवस्था राम्रो भए बिद्यार्थी पनि राम्रो हुने विश्वास अभिावकले पनि गरेका हुन्छन यद्यपी अभिभावक पनि आफ्ना केटाकेटी अध्ययन गर्ने बिद्यालयको अवस्था के छ भनेर चासो राखेर सुधारका प्रयासमा जुटनु पर्ने टडकारो आवश्यकता छ ।
जे होस यस्ता प्रकृति र प्रबृतिको सुधार अपरिहार्य छ नै त्यसमा पनि कहिलेकहिं एकाएक भैपरि आउने महामारी व्यवस्थापनका लागि भए पनि अत्याबश्यक भौतिक पूर्बाधारहरु सुरक्षित व्यवस्थित राख्नु जिम्मेवार व्यक्ति तथा संस्थाको पहिलो कर्तव्य हुन आउँछ ।
