अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,भदौ,५ गते । डडेल्धुराको आलिताल गाँउपालिका वडा नं। ८ मा निर्माण भइरहेको डोला चक्रपथमा व्यापक वन फडानी भएको छ। आलिताल गाँउपालिका अन्र्तगतको गोदाम बजार देखी डोला गाँउ जोड्ने सडकको निर्माणका क्रममा सामुदायिक वनक्षेत्रमा रहेका रुखहरु काटिएका छन ।
आलिताल गाँउपालिकाको सम्पूरक कोष अन्र्तगत निर्माण सुरु गरिएको सडकमा रहेका रुखहरु वन कार्यालयको अनुमती विना कटानी गरि गोलिया बनाईलुकाई राखेको अवस्थामा फेला पारेको वन डिभिजन कार्यालय डडेल्धुराका निमित्त प्रमुख डबल बहादुर बोहराले जानकारी दिएको छ। शुक्रबार बेलुका सम्म ८० गोलिया थान बरामद गरिएको र बाकी खोजी भईरहेको वन कार्यालयले जानकारी दिएको छ।
उक्त क्षेत्रमा दुई हजार क्युफिट भन्दा बढी काठ काटीएको हुन सक्ने आशंका गरिएको छ। डिभिजन वन कार्यालयको टोलीले शुक्रबार उक्त क्षेत्रमा काठ गोलिया बनाई रहेका एक जना र सोही वन रहेको सामुदायिक वनका अध्यक्षलाई नियन्त्रणमा लिएको र शनिबार प्रहरीमा बुझाई आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाउने वन डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ।
सडक निर्माणका क्रममा अवैध रुपमा वन फडानी गर्ने माथी अनुसन्धान थालिएको र दोषी माथी कारवाही गरिने वन डिभिजन प्रमुख विष्णु प्रसाद आचार्यले जानकारी दिएको छ । वनमा व्यापक रुपमा फडानी भएको छ, वन डिभिजन प्रमुख आचार्यले भने गहिरो अनुसन्धान गरि दोषी माथी कारवाही हुने बताए ।
सडक निर्माणका क्रममा काठ काटिएको बिषयमा ढिलागरि बिहीबार मात्रै कार्यालयमा जानकारी भएपछि टोली घटना स्थल पठाएको र वन फडानी गरिएको पाईएपछि शुक्रबार जिल्लाको टोली समेत घटनास्थलमा पुगेको उनले जानकारी दिए। सडक निर्माण कम्पनीलाई समेत अनुसन्धानको दायरामा ल्याउने वन कार्यालयले जानकारी दिएको छ ।
