अमरगढी रैबार सम्बाददाता
कञ्चनपुर,असार,५ गते । कञ्चनपुरको भीमदत्त नगरपालिकाको केही बस्ती डुबानमा परेको छ।
महाकाली नदीमा आएको बाढीले भीमदत्त नगरपालिका १२ स्थित ऐरी घाटको बस्ती डुबानमा परेको हो। ऐरी बस्तीको १० घर डुबानमा परेको र उद्दारको तयारीमा रहेको भीमदत्त नगरपालिका १३ का वडा अधयक्ष लालबहादुर शाहीले जानकारी दिए। महाकाली नदीमा पानीको बहाब उच्च भएपछि महाकाली नदीमाथि निर्माधिन ४ लेन पुलको ड्याम समेत भत्काएको छ। ड्याम भत्काएपछि आवातजावात बन्द भएको वडा अध्यक्ष शाहीले दिनेशखबरलाई जानकारी दिए। बाढी प्रभावित क्षेत्रमा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टसहितको जनप्रतिनिधिहरुको टोली पुगेको छ।
नदीमा पानीको बहाव बढ्ने क्रममा रहको बताइएको छ। हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणको लागि उद्दार टोलीलाई उच्च सतर्कताको अवस्थामा राखिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए। महाकाली नदीमा पानीको स्तर शानिबार बिहान ८ बजेसम्म १ लाख ६६ हजार क्वीसेक मापन गरिएको थियो। सामान्यतया महाकाली नदीमा ४० हजार क्वीसेक हुनुपर्नेमा बढेको हो।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अति जरुरी सूचना भन्दै नदी तटीय क्षेत्रमा सतर्कता अप्नाउन अपिल जारी गरेको थियो।
