निमित्तकै भरमा बैतडीका कार्यालय
जिल्ला अस्पतालमा नवौं तहका एक डाक्टरसँगै २ मेडिकल अधिकृतको दरबन्दी छ । दरबन्दीका डाक्टर कुनै पनि छैनन् ।
तृप्ति शाही
बैतडी — अहिले जिल्ला अस्पताल बैतडीको नेतृत्व निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर वसन्तराज जोशीले गरिरहेका छन् । नवौं तहको स्थायी दरबन्दी रहेको अस्पतालामा करिब २ वर्ष अघिदेखि डाक्टर जोशीको टिमले धानिरहेको छ । अहिले मात्र होइन स्थापनाकालबाटै अस्पतालको नेतृत्व निमित्त मेडिकल सुपरिन्टेन्डेन्टले नै गर्दै आएका छन् ।
स्थापना भएको २९ वर्ष भइसक्दा अस्पतालमा एक डाक्टर मात्र नवौं तहका कार्यालय प्रमुख भएर बसेका छन् । सुदूरपश्चिमको स्वास्थ्य निर्देशकबाट भर्खरै अनिवार्य अवकाश पाएका डा। गुणराज अवस्थी २०६८ देखि २०७५ सालसम्म बैतडी जिल्ला अस्पतालको प्रमुख भएर बसेका थिए । उनीबाहेक कोही पनि हालसम्म नवौं तहका डाक्टर कार्यालय प्रमुख भएर बसेका छैनन् ।
जिल्ला अस्पतालमा १ जना नवौं तहका डाक्टरसँगै २ मेडिकल अधिकृतको दरबन्दी छ । अहिले दरबन्दीका डाक्टर कुनै पनि छैनन् । करारसेवाबाट ४ मेडिकल अधिकृतले अस्पतालमा सेवा दिइरहेका छन् ।
यस्तै, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीमा पनि उपसचिवको दरबन्दी छ । तर कार्यालय अधिकृतले चलाइरहेका छन् । कार्यालय स्थापनादेखि नै उमाशंकर जोशी र भरत केसी गरी २ जना मात्र उपसचिव बसेको जानकारीमा आएको निमित्त कार्यालय प्रमुख कृष्णबहादुर बोगटी बताउँछन् । ‘१०र१२ वर्षयता कोही पनि दरबन्दीअनुसारका कार्यालय प्रमुख छैनन् । निमित्तले नै कार्यालय सञ्चालन गरिरहेका छन् । दरबन्दी भने उपसचिवकै हो ।’
जलस्रोत तथा सिँचाइ विकास कार्यालयमा पनि निमित्त कार्यालय प्रमुख इन्जिनियर सन्दीप डंगोल छन् । उनका अनुसार उनीभन्दा अघि पनि निमित्त कार्यालय प्रमुखले नै सञ्चालन गरिरहेका थिए । सिनियर डिभिजनल इन्जिनियरको दरबन्दी भए पनि इन्जिनियरले नै कार्यालय प्रमुख भएर चलाइरहेका छन् । बैतडी मात्र नभएर सुदूरपश्चिम प्रदेशका ६ वटा जिल्लामा निमित्तले नै जलस्रोत तथा सिँचाइ विकास कार्यालय चलाइरहेका डंगोलले बताए ।
जिल्लाका अधिकांश कार्यालय निमित्तकै भरमा सञ्चालनमा रहेका छन् । पूर्वाधार विकास कार्यालय, मालपोत कार्यालय, हुलाक कार्यालय जिल्ला समन्वय समितिको कार्यालय, भवन निर्माण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्र लगायतका दर्जन बढी कार्यालयहरू निमित्त कार्यालय प्रमुखले नै चलाइरहेका छन् ।
दरबन्दीका कर्मचारी पनि छैनन्
कार्यालय प्रमुख मात्र होइनन् । दरबन्दीअनुसारका कर्मचारीहरू पनि जिल्लाका कार्यालयमा छैनन् । जिल्ला प्रशासन कार्यालयमै ४ जना कर्मचारी दरबन्दीका छैनन् । पहिलो पटक बैतडीमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे सहसचिव तहका छन् । सहसचिव प्रमुख जिल्ला अधिकारी भए पनि प्रशासन कार्यालयमा उपसचिवको दरबन्दी रिक्त छ । यस्तै, १ प्रमुख प्रशासकीय अधिकृत, १ नायब सुब्बा र १ लेखापालको दरबन्दी पनि रिक्त रहेको जिल्ला प्रशासनका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा पनि दरबन्दीका कर्मचारीहरू छैनन् । २ जना दरबन्दीका कर्मचारी नभएका कार्यालयले जनाएको छ । महाकाली भन्सार कार्यालयमा अहिले १ जना नायब सुब्बा मात्र कार्यरत छन् । त्यहाँ २ जनाको दरबन्दी हो । १ जना लेखापाल र १ जना कम्प्युटर अपरेटरको दरबन्दी भए पनि दुवै रिक्त रहेको कार्यालयले जनाएको छ । यस्तै ५ जना कार्यालय सहयोगीको दरबन्दी रहे पनि २ जना मात्र कार्यरत छन् । जिल्लाका अन्य सरकारी कार्यालयमा पनि दरबन्दीका कर्मचारीहरू छैनन् ।
नागरिकलाई छिटो र सरल माध्यमबाट सेवा दिने उद्देश्यले स्थापना गरिएका सरकारी कार्यालयहरू निमित्तकै भरमा छन् । निमित्तकै भरमा रहेका कार्यालयमा पनि दरबन्दी अनुसारका कर्मचारीहरू नहुँदा सेवा छिटो र सरल माध्यमबाट हुन नसकेको सेवाग्राहीहरू बताउँछन् । जिल्लाका सरकारी कार्यालयमा कर्मचारीको अभाव हुँदा काम गर्न जाँदा घण्टौं कुनुपर्ने बाध्यता रहेको दोगडाकेदार गाउँपालिकाका शिवराज भट्ट बताउँछन् । उनले भने, ‘सबै कार्यालयमा कर्मचारीहरूको अभाव भएरै होला । कामकाजमा ढिलाइ हुने गरेको छ ।’
