किसानका पीडा M पानी चाहिँदा सुक्खा, भित्र्याउने बेला वर्षा ‘यसपालि धान भित्र्याउनै गाह्रो हुन थाल्यो, बेला–बेलामा पानी परिरहेको छ, अलिकति काटेको धान पनि बारीमै कुहिने अवस्थामा पुग्यो’
भवानी भट्ट, गणेश चौधरी
रोपाइँ गरेपछि धान पसाउने बेलासम्म आवश्यकताअनुसार वर्षा नभएर धानवालीमा विभिन्न रोग किराको प्रकोप बढेको थियो । कतिपय ठाउँमा त पानीको अभावमा रोपो नै सुक्न पनि थालेकोले सिंचाई गर्नुपर्ने भयो ।
तर अहिले धानवाली भित्र्याउने बेला लगातार भइरहेको वर्षाले कृषकहरू थप समस्यामा परेका छन् । कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काटन नपाएर खेतमै झर्ने अवस्था पुगेको छ ।
असोजदेखि कञ्चनपुरमा प्रायः दैनिकजसो वर्षा भइरहेको छ । बुधबार दिउँसो र रातिको वर्षाले काटेको धानवाली भित्र्याउन झनै असहज भएको किसानहरूले बताएका छन् । काटेको धान खेतमै पानीले भिजाएको छ । ‘यसपाली धान भित्र्याउनै गाह्रो हुन थाल्यो, बेला बेलामा पानी परिरहेको छ, अलिकति काटेको धान पनि बारीमै भिजेको छ’ भीमदत्त नगरपालिका ११ का कृषक मोहनसिंह धामीले भने, ‘धान पाकेर खेतमै झर्ने अवस्था आईसकेको छ ।’
कञ्चनपुरमा असार पहिलो साता रोपाँइ सुरु हुने भएकाले भदौ अन्तिमदेखि असोजसम्म धान पाक्ने गर्छ । ढिला पाक्ने जातका लागि अहिलेको वर्षा फाइदाजनक भएपनि चाँडो पाक्ने धानवाली भित्र्याउन समस्या हुने गरेको हो । ‘धान काटेर तोरी छर्ने खेत हो’ भीमदत्त नगरपालिका १० का किसन जोशीले भने, ‘अहिलेसम्म न धान काटनै सकिएको छैन, कतिबेला तोरी छर्ने ?’ उनका अनुसार धान पसाउने बेला वर्षा नहुँदा राम्ररी बाला आएको छैन ।
कतिपय कृषकहरूले चाँडो पाक्ने धान रोपेर तोरी छर्ने गर्छन् । तोरी पाकेपछि सोहि खेतमा गहुँवाली लगाउँने गरिन्छ । यसले दोहोरो फाइदा लिन सकिने भएपनि यस वर्ष असोज मध्यसम्म पनि लगातार वर्षा भईरहेका कारण समस्या हुने गरेको छ । अहिले भईरहेको वर्षाले तरकारी उत्पादनमा पनि ह्रास आएको छ । जसका कारण बजारमो तरकारीको मुल्य दोब्बर बृद्धि भएको छ ।
अहिले भईरहेको वर्षाले धानवालीलाई फाइदा वा नोक्सान केही पनि नहुने कृषि प्राविधिकहरू बताउछन् । तर पाकेको धानवाली भित्र्याउन असहज हुने उनीहरू बताउछन् । ‘छोटो र मध्य अवधिको धानवाली पाक्ने बेला भइसक्यो, त्यो वाली भित्र्याउन समस्या हुन्छ’ सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुल बोहराले भने, ‘लामो अवधिको धानलाई भने फाइदा नै गर्छ ।’ उनका अनुसार कञ्चनपुरमा करिब ५० हजार हेक्टर र कैलालीमा ६५ हजार हेक्टरमा धानखेती गरिँदै आएको छ ।
लामो र ढिला पाक्ने धानलाई भने अहिलेको वर्षाले निकै फाइदा पुर्याउने कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्ट बताउँछन् । उनका अनुसार अहिलेको समय छोटो अवधिको धान पाक्ने बेला हो । कञ्चनपुरमा २५ प्रतिशतका हाराहारीमा छोटो अवधिमा धान लगाइएको छ । काटेको धानलाई भने वर्षाले असर गर्ने र लगातार वर्षा भए कुहिन सक्ने भएकाले झन्झटिलो हुने उनी बताउँछन् । उनका अनुसार छोटो अवधिको धान भदौ अन्तिमदेखि असोज पहिलो सातासम्म पाक्छ । मध्यम अवधिको धान असोज अन्तिमसम्म र लामो अवधिको धान कार्तिक दोस्रो हप्तासम्म पाक्ने गर्छ ।
हिउँदे तरकारी र तोरीलाई पनि असर
अहिले भइरहेको वर्षाले हिउँदे तरकारी र तोरीलाई असर गर्ने वरिष्ठ कृषि प्रसार अधिकृत बोहराले बताए । उनका अनुसार अहिले अगाडी फल्ने तोरी र तरकारी लगाउने अवधि हो । यसका लागि सुक्खा आवश्यक पर्छ । तर यहि बेलाई भइरहेको लगातारको वर्षाले तोरी र तरकारी लगाउन नसकिने अवस्था आएको छ ।कैलाली र कञ्चनपुरका धेरैजसो ठाँउमा अगौते तोरी र तरकारी लगाउते चलन छ ।कृषकहरूले एक पटक जोतेको खेत वर्षाले पुनः जोत्नुपर्ने भएको बोहरा बताउँछन् । यसले हिउँदे तरकारी उत्पादनमा पनि ह्रास आउने उनले बताए ।
