Amargadhi Post

डडेल्धुराको नबदुर्गामा ७ दिने उद्यमशीलता विकास तालिम सुरु

लक्ष्मी ऐर 
डडेल्धुरा,चैत १२ गते । डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ डाँडावनमा ‘द्वारिकादेवी ठकुरानी महिला सशक्तीकरण तथा आत्मनिर्भरका लागि सात दिने उद्यमशीलता विकास तालिम’ सुरु भएको छ ।
सामाजिक विकास कार्यालय डडेल्धुराको आयोजनामा बिहीबार देखि उक्त तालिम सुरु भएको हो । महिलालाई आत्मनिर्भर र सशक्त बनाउने उद्देश्यका साथ तालिम दिन थालिएको कार्यालय प्रमुख मीनबहादुर लामिछानेले जानकारी दिनुभएको छ । तालिममा सहभागी महिलाहरूलाई तरकारी खेती र बाख्रा पालन सम्बन्धी व्यावसायिक सीप प्रदान गरिनेछ । तालिम मार्फत कृषिलाई कसरी व्यवसायिक रूपमा अघि बढाउन सकिन्छ भन्ने विषयमा व्यावहारिक ज्ञान दिइने बताउनुभयो ।
सहभागीहरूलाई अनुशासित र सक्रिय भएर तालिममा सहभागी हुन कार्यालय प्रमुख लामिछानेले आग्रह गरेका छन । कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष भक्तबहादुर कठायतले महिलाहरूको सशक्तीकरण आजको आवश्यकता भएको उल्लेख गर्दै तालिममा सिकेका सीपहरूलाई दैनिक व्यवहारमा लागू गर्न आग्रह गरेका छन ।
पिछडिएका समुदाय तथा आर्थिक रूपमा विपन्न महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको तालिममा नवदुर्गा गाउँपालिका–३ का २७ जना महिलाको सक्रिय सहभागिता रहेको कार्यालयका प्राविधिक सहायक भोजबहादुर चुनाराले जानकारी दिनुभयो । उक्त तालिमले स्थानीय महिलाहरूको आयआर्जन वृद्धि गर्दै आत्मनिर्भर बन्ने मार्गमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । तालिम चैत १८ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।