हरेन्द्र साँउद
डडेल्धुरा,माघ,७ गते । सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियान चलिरहँदा डडेल्धुराको भित्रीमधेशमा पर्ने आलिताल गाउँपालिकामा फेरी एक दर्जन छाउगोठ सोमबार प्रहरीले भत्काएको छ ।
आलिताल गाउँपालिका ७ बलौचा र चिनीगौडा टोलमा रहेका १२ वटा छाउगोठ भत्काएका हुन । प्रहरी सहायक निरीक्षक कोमलप्रसाद जोशीको टोलीले जनप्रतिनिधि,आमा समूह र स्थानीयहरूको सहभागितामा ती छाउगोठ भत्काएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत छाउगोठहरू भत्काउने अभियानका क्रममा टालेबासीले प्रयोग गर्दै आइरहेका छाउगोठ भत्काएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।
छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुन्छ र देउता रिसाउछ भन्ने अन्ध विश्वासका साथ महिनावारी अर्थात् छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरो बनाउने यस क्षेत्रको प्रचलन कायमै रहेको छ । मुलुकी अपराध संहितामा महिला रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र रु तीन हजारसम्म जरिवाना हुने व्यवस्था छ ।
