अमरगढी समाचार
डडेल्धुरा,असोज,१४ गते । सुदूरपश्चिममा सत्ता गठबन्धनले मान्यता नपाएको भन्दै नेपाली कांग्रेस असन्तुष्ट बनेको छ। केन्द्रमा बनेको गठबन्धन अनुरुप सुदूरपश्चिम प्रदेशमा काम नगरिएको भन्दै कांग्रेस असन्तुष्ट बनेको हो।
आज९बिहिवार० कांग्रेस सुदूरपश्चिम संसदीय दलले मुख्यमन्त्रीलाई एक ज्ञापन पत्र बुझाउँदै सुदूरपश्चिममा केन्द्रिय गठबन्धनको औचित्य नदेखिएको जनाएको हो। संसदीय दलका नेता रणबहादुर रावलद्धारा जारी ज्ञापन पत्रमा भनिएको छ,‘केन्द्रिय गठबन्धन अनुरुप जुन ढंगले छलफल र सहकार्य हुनुपर्ने हो त्यसको कुनै लक्षण देखिएन।’ गठबन्धनलाई मान्यता दिनुपर्ने कांग्रेसको भनाई छ।
सुदूरपश्चिम सरकारले कांग्रेसलाई वेवास्ता गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। यस्तै कांग्रेसले सुदूरपश्चिम सरकार मातहत कृष्णपुर नगरपालिका ४ मा पूर्वाधार विकास कार्यक्रमबाट ५ लाखको निर्माण सम्पन्न गरिएको तर भुक्तानी नभएकाले तुरुन्त भुक्तानीको व्यवस्था गर्न माग गरेको छ। प्रदेशका कर्मचारीलाई आस्थाको आधारमा विभेद गरिएकाले मापदण्ड तयार गरेर न्यायोचित व्यवस्थापन गरिनुपर्ने र सरकारले बजेटबारे स्पष्ट निर्णय दिनुपर्ने कांग्रेसको माग छ।
