लक्ष्मी ऐर
डडेल्धुरा फागुन २१गते । डडेलधुरामा आज शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया सुरु भएको छ। बिहान ७ बजेदेखि जिल्लाका सबै मतदान केन्द्रमा मतदान सुरु भएको हो।
एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराका मतदान केन्द्रहरुमा अहिले सम्म १८ दशमलव २७ प्रतिशत मत खसेको छ । जसमा महिला मतदाता ८४३५ र पुरुष ८६५५ गरि जम्मा १७०९० मत खसेको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोइरालाले जानकारी दिन भयो ।
डडेल्धुरामा कुल ९३ हजार ४०३ मतदाता रहेका छन्। मतदानका लागि जिल्लाभर १०४ मतदान स्थल र १४१ मतदान केन्द्र तोकिएका छन्। साथै एउटा अस्थायी मतदान केन्द्र पनि व्यवस्था गरिएको छ। सुरक्षाकर्मी बाहेक अन्य कर्मचारी तथा स्वयमसेवक गरी १ हजार २०० जना जनशक्ति परिचालन गरिएको छ ।
निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकाय परिचालन गरिएको छ भने मतदान स्थलहरूमा मतदाताको क्रमिक उपस्थिति देखिन थालेको निर्वाचन कार्यालयले जनाएको छ ।
मतदान केन्द्रहरूमा मतदाताहरूको उपस्थिति उत्साहजनक देखिएको छ । सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र सम्बन्धित निकायको सक्रिय उपस्थिति रहेको छ। अहिलेसम्मको अवधिमा कुनै अप्रिय घटना नघटेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ। मतदान प्रक्रिया बेलुका ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
