अमरगढी पोष्ट समाचार
डडेल्धुरा,चैत्र,१२ गते । निसन्तानपन तथा स्त्री रोगसम्बन्धी समस्याबाट पीडित बिरामीलाई लक्षित गर्दै धनगढीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। शुभश्री आइभिएफ क्लिनिक प्रालि काठमाडौं र केयरटेकर अस्पताल धनगढीको संयुक्त आयोजनामा चैत १४ गते शनिबार उक्त शिविर सञ्चालन गर्न लागिएको हो। अस्पतालका अध्यक्ष गोपालबहादुर शाहीका अनुसार शिविरमा विशेषगरी निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी विशेषज्ञ सेवा प्रदान गरिनेछ। शिविरमा इन्फर्टिलिटी ९आईभिएफ० विशेषज्ञ डा। रोजिना मानन्धर नेतृत्वको टोलीबाट सेवा उपलब्ध गराइने जनाइएको छ।
शिविरअन्तर्गत ओपीडी सेवा पूर्णरूपमा निःशुल्क उपलब्ध हुनेछ भने भिडियो परीक्षण पनि निःशुल्क गरिनेछ। साथै, अल्ट्रासाउन्ड सेवामा रु ५०० मात्र शुल्क लाग्ने र ल्याब परीक्षणमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
उक्त शिविर धनगढी–३, शहीदगेट अगाडि रहेको केयरटेकर अस्पतालमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने जनाइएको छ। स्वास्थ्य सेवामा सहज पहुँच नपाएका बिरामीलाई लक्षित गर्दै आयोजना गरिएको यस शिविरबाट धेरैले लाभ लिन सक्ने अपेक्षा गरिएको छ।

