Amargadhi Post

डडेल्धुरामा शनिबार हाट बजार शुरु

टेकराज अवस्थी
डडेल्धुरा,चैत १४ गते । कृषि उपजलाई व्यवस्थित गर्न तथा उपभोक्ताको हितलाई दृष्टिगत गरि डडेल्धुरा जिल्लामा कृषि थोक तथा हाट बजार संचालन भएको छ । कृषि ज्ञान केन्द्र डडेल्धुरा लगायत सम्बन्धि सम्पूर्ण सरोकारवाला निकायको पहलमा जिल्ला सदरमुकामको बसपार्क नजिकै हाट बजार शुरु भए पछि स्थानीय उत्पादन तथा आयातित कृषि उपज सस्तो मूल्यमा उपलब्ध हुने भएको छ ।
कृषिमा भएको लगानीको प्रतिफल र उपलब्धीलाई संस्थागत तथा किसानलाई कृषिकर्ममा प्रेरित गर्न स्थानीय उत्पादनलाई रोजगारीसँग जोडदै संचालन गरिएको हाटबजारमा जिल्लाका विभिन्न स्थानबाट कृषि उपज सहभागि हुने क्रम बढेको छ ।
प्रत्येक शनिवार संचालन हुने कृषि तथा उद्यम हाट बजारमा ताजा तरकारी, रैथाने धानको चामल, कोदोको पिठो, मौसमी जुनार लगायत फलफूल र अमिलो चुक, आलु प्याज लसुन, काँचो मकै, अचार, च्याउँ दलहन र दुग्धजन्य जस्ता डडेल्धुरा लगायत पहाडमा उत्पादन हुने विभिन्न स्थानीय उत्पादनहरु बिक्रिका लागि राखिए पछि कृषक तथा उपभोक्ता उत्साहित र लाभान्वित भएका छन ।
कृषि बजारीकरणका लागि शुरु भएको हाट बजारका लागि निशुल्क स्टल निर्माण तथा व्यवस्थापनमा उद्योग बाणिज्य संघ, अमरगढी नगरपालिका, अमरगढी नगरपालिका वडा नं. ५ को कार्यालय, कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम लगायतका संस्था र निकायले सहजिकरण र सहयोग गरेका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।