लक्ष्मी ऐर
डडेल्धुरा,चैत १५ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) डडेल्धुराले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आईतबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरा मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै ओलीको रिहाइको माग गरिएको हो । एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर ओलीलाई ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीको रिहाइको माग गरेको हो । पार्टी अध्यक्ष ओली सहित पक्राउ गरिएका सबै नेताहरूको रिहाइको माग गरी सहायक प्रजिअ ओली मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
सरकारले कार्की आयोगको प्रतिशोधात्मक प्रतिवेदनका आधारमा पार्टी अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर देशलाई मुठभेड र द्वन्द्वतर्फ धकेल्न खोजेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा प्रतिशोध साध्न ओली लगायतका नेतालाई पक्राउ गरिएको एमाले डडेल्धुराको ठहर रहेको ज्ञापनपत्रमा उल्लेख छ । कार्की आयोगलाई ‘कथित आयोग’ को संज्ञा दिँदै एमाले डडेल्धुराले प्रतिशोधात्मक ढङ्गले नेताहरूलाई पक्राउ गर्नु सिङ्गो कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन माथिको नाङ्गो प्रहार तथा दमन सुरुवात भएको पनि ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
“यस किसिमको प्रहार तथा दमनको भर्सना र निन्दा गर्दै गिरफ्तार नेताहरूको तल्काल रिहाइ गर्न साथै प्रतिशोधात्मक दमन र धरपकड बन्द गर्न जोडदार माग गर्दछौं” ज्ञापनपत्रमा भनिएको छ ।



