Amargadhi Post

डडेल्धुरा महोत्सव आजबाट सुरु

अमरगढी पोष्ट समाचार
डडेल्धुरा, चैत्र २८ । डडेल्धुरामा कृषि, पर्यटन, कला, संस्कृति तथा औद्योगिक व्यापार मेला एवम डडेल्धुरा महोत्सव आजदेखि सुरु भएको छ। राष्ट्रिय संगीतकर्मी सङ्घ डडेल्धुरा जिल्ला शाखाको आयोजनामा सुरु भएको महोत्सव वैशाख १० गतेसम्म सञ्चालन हुने जनाइएको छ।

शनीवार महोत्सवको उद्घाटन जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन सिंह भण्डारीले गर्नुभएको छ । उद्घाटन कार्यक्रममा उहाँले यस्ता महोत्सवहरूले स्थानीय उत्पादन, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। सङ्घका जिल्ला अध्यक्ष गणेश केसीका अनुसार महोत्सवको मुख्य उद्देश्य स्थानीय कला तथा संस्कृतिको संरक्षण, कृषि उत्पादनको प्रवद्र्धन तथा व्यापारिक गतिविधि विस्तार गर्नु रहेको छ। महोत्सवमा स्थानीय कृषिजन्य उत्पादनहरूको प्रदर्शन तथा बिक्रीका लागि विशेष व्यवस्था गरिएको छ भने विभिन्न व्यापारिक स्टलहरू पनि राखिएका छन्। साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति महोत्सवको प्रमुख आकर्षणका रूपमा रहनेछ।

सर्वसाधारणका लागि प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ भने विद्यार्थीहरूले परिचयपत्रका आधारमा ५० रुपैयाँमा प्रवेश पाउनेछन्। अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

महोत्सवमा चर्खा, बाल उद्यान, मनोरञ्जनात्मक सामग्री तथा विभिन्न खेलकुद गतिविधिहरू समेत महोत्सवमा समावेश गरिएका छन्। पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक पहिचान जगेर्ना गर्ने उद्देश्यसहित महोत्सव टुडिँखेलमा आयोजना गरिएको हो।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।