लोकेन्द्र ओझा
कैलाली ,असार २९ गते । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय, धनगढी कैलालीले २५ जना प्रशिक्षक उत्पादन गरेको छ । असार १५ गतेदेखि सञ्चालन भएको उक्त तालिम सोमबार औपचारिक रुपमा समापन गरिदै २५ जना प्रशिक्षक उत्पादन गरेको हो । सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका २५ सहकारी संस्थाबाट सहभागी अध्यक्ष, सञ्चालक तथा व्यवस्थापकलाई प्रशिक्षकका रूपमा तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको आयोजकले जनाएको छ । समापन कार्यक्रममा बोल्नुहुदै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाहले सहकारी समाज रूपान्तरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सहकारीकर्मीहरू इमान्दार, जिम्मेवार र उत्तरदायी भएर काम गर्नुपर्ने जोड दिनुभयो । उहाँले सिकाइ जीवनभर चलिरहने प्रक्रिया भएकाले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्नै संस्थामा व्यवहारमा उतार्न आग्रह गर्नुभयो। आफूले पनि प्रशिक्षकका रूपमा काम गर्दा संस्थागत सुधारको सकारात्मक अनुभव प्राप्त गरेको उहाँको भनार्इ थियो।

विशिष्ट अतिथि स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्र सिंह कार्कीले बदलिँदो समयअनुसार सहकारी क्षेत्र पनि रूपान्तरण हुनुपर्ने धारणा राख्नुभयो। उहाँले सहकारीमा उद्यमशीलताको विकास आवश्यक रहेको उल्लेख गर्दै सहकारी अभियानले नेपालमा रोजगारी सिर्जना र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। पछिल्लो समय केही सहकारीमा देखिएका समस्याका कारण समग्र सहकारी क्षेत्रप्रति नकारात्मक धारणा बनेको भन्दै त्यसलाई सुधार्नु सबैको साझा जिम्मेवारी भएको उहाँले बताउनुभयो। कार्यक्रममा सहकारी रजिस्ट्रार जयन्ती गिरीले तालिममा दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण भएकाले कार्यक्रम अत्यन्त प्रभावकारी भएको बताउनुभयो। सहभागीहरूले अनुशासित रूपमा पाठयोजना निर्माण, अभ्यास शिक्षण तथा सक्रिय सहभागिता जनाएको उल्लेख गर्दै उहाँले सिकेको ज्ञान र सीपलाई आ–आफ्ना संस्थामा प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो।
तालिममा सहकारीको अवधारणा, विश्व तथा नेपालको सहकारी इतिहास, नेपालको संविधान–२०७२ मा सहकारीसम्बन्धी व्यवस्था, सहकारी ऐन–२०७४, सहकारी नियमावली–२०७५, सहकारीसम्बन्धी अन्य कानुन, व्यावसायिक योजना, ऋण प्रक्रिया, वित्तीय व्यवस्थापन, सहकारीमा पुँजी, ऋण असुलीका कानुनी आधार र प्रक्रिया, सहकारी शिक्षा, सेवा, सञ्चालक समितिको काम कर्तव्य र अधिकार, साधारण सभा सञ्चालन, सहकारीका मूल्य, मान्यता र सिद्धान्त तथा प्रभावकारी प्रशिक्षण विधि र असल प्रशिक्षकमा हुनुपर्ने गुणका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
तालिममा डा.रूपा जोशी, डा. गोविन्दराज जोशी, डा. हेमराज पन्त, मन्त्रालयका सचिव शंकर शाह, सहकारी रजिस्ट्रार जयन्ती गिरी, उदयदेव सहकारीका कार्यकारी निर्देशक गणेशबहादुर चन्द, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक श्यामसिंह खड्का, राष्ट्रिय सहकारी बैंकका सञ्चालक मनमोहन बिष्ट तथा प्रशिक्षकहरू नरेन्द्र चन्द, विनोद पन्त, जागुराम चौधरी, राजेन्द्र चन्द, मोहनदेव जोशी, राजकुमार झा, रमेश चौधरी लगायतले सहजीकरण गर्नुभएको थियो।
१५ दिने तालिमले सुदूरपश्चिम प्रदेशका सहकारी संस्थामा दक्ष प्रशिक्षक उत्पादन गरी संस्थागत क्षमता अभिवृद्धि, सुशासन प्रवर्द्धन तथा प्रभावकारी सहकारी शिक्षा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले गरेको छ । सुदुरपश्चिमका ९ वटै जिल्लाका सहकारीका संचालक तथा मुख्य ब्यबस्थापकहरुको सकृय सहभागिताले सहकारीको ब्यबस्थापन क्षेत्रलाई ब्यबस्थित गर्न निकै सहयोग पुग्ने बिश्वास गरिएको छ ।

